ललितनिवास प्रकरण : बाबुरामले भने, “अरूमाथि हिलो छ्याप्न नपाओस्”
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवासको जग्गा प्रकरणमा आफू वा आफू निकटका कुनै व्यक्तिको स्वार्थ नजोडिएको बताएका छन्। उनले यसमा कसैले आजसम्म त्यस्तो आरोप पनि नलगाएको बताएका छन्।
ललिता निवास प्रकरणमा विभिन्न प्रधानमन्त्रीका पालामा कतिपय उल्लेखनीय निर्णयहरु भएका छन्। भट्टराई नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले पनि निर्णय गरेको हुनाले उनलाई पनि यो प्रकरणमा जोडेर चर्चा गर्ने गरिएको छ।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्–
ललिता निवास प्रकरणको पुछारमा मेरो प्रमकालको मन्त्रिपरिषद्को निर्णय पनि जोडिन पुगेकाले धेरै महानुभावहरूले चिन्ता र चासोसहित वास्तविकता सार्वजनिक गरिदिन आग्रह गर्नुभएको छ।
मेरो करिब १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका छन् तीबारे प्रमले सबै सम्झनसक्ने कुरो हुँदैन! मप (मन्त्रिपरिषद्)का निर्णयहरू एकाध बाहेक सबै सम्बन्धित मन्त्रालयबाटै उत्पत्ति भएर आएका हुन्छन्! तिनलाई मुख्यसचिवले बैठकमा प्रस्तुत गरेपछि मपको सम्बन्धित समितिमा पठाइन्छ! त्यसले सबै जाँचबुझ गरेर सिफारिस गरेपछि मपले विधिवत् निर्णय गर्छ।
ललिता निवाससम्बन्धी प्रस्ताव भूमि व्यवस्था मन्त्रालयबाट आएर मप को सामाजिक (?) समितिमा छलफलपछि मपबाट पारित भएजस्तो लाग्छ। मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ! यो कुरा मैले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा पनि भनेको छु।
तत्कालीन प्रमको हैसियतले मसँग जोडिएको कुरा यत्ति हो! त्यसपछि के–कसो भयो मलाई थाहा हुने कुरो भएन। कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन!
देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललिता निवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कारबाही होस् भन्ने कुरा मैले संसद्मा र बाहिर पनि निरन्तर उठाउँदै आएको छु! त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु।
बरु यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्; अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस्!