विवेकशील साझा पार्टीद्वारा नेपालको सांस्कृतिक मानचित्र सार्वजनिक
काठमाडाैं । विवेकशील साझा पार्टीले नेपालको सांस्कृतिक मानचित्र सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम गर्दै मानचित्र सार्वजनिक गरिएको विवेकशील साझाले जनाएको छ। पार्टीले नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियानसमेत चलाउने बताएको छ।
‘अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझाले ‘ऐतिहासिक नेपालको गौरवमय साँस्कृतिक मानचित्र’ सार्वजनिक गरेको हो,’ प्रवक्ता आशुतोष प्रधानले विज्ञप्तिमा उल्लेख छ।
सुगौली सन्धि अगाडिको नेपालको भू-भाग र वर्तमान भू-भागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरलाई समेटेर मानचित्र तयार पारिएको पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले वताए। मानचित्रमा सगरमाथादेखि बौद्धस्तुपासम्म, पशुपतिनाथदेखि काँक्रेविहारसम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएको छ।
‘मानसरोवरदेखि गंगा मैदान सम्म’का धरोहरलाई नक्सांकन गरिएको छ। धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्विक सम्पदालाई झल्काइएको छ,’ उपाध्यक्ष परियारले भने। भारत अतिक्रमित नेपालको भूमी लिपुलेक-लिम्पियाधुरा-कालापानी र अतिक्रमित अन्य सम्पूर्ण भू-भाग भारतले छोड्नु पर्ने विवेकशील साझा पार्टीले बताएको छ।