गठबन्धन सरकार पाँच वर्ष चल्ने प्रधानमन्त्री प्रचण्डको दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताएका छन्।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।’​

भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताउँदै उनले भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गरे। नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्रीले थप तीव्रताका साथ अघि बढ्ने बताए। बजेट पास होला कि नहोला भन्ने तरङ्ग रहेको बताउँदै उनले विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको उल्लेख गरे।

‘यसपटक हामीले भिन्न ढङ्गले नै काम सुरू गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ । जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ।’ उनले भने,  ‘विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।’

अर्थतन्त्र धरासायी बढी नै हुन्छ कि भन्ने रहेका अवस्थामा यो बिस्तारै लयमा फर्किएको उनले बताए। यसपटकको भारत भ्रमण ऐतिहासक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रको हितमा भारतसँग धेरै महत्वपूर्ण समझदारी भएको बताए। ‘भारतीय प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्’, उनले भने।

पारवहन सन्धि पुनरावलोकन पनि महत्वपूर्ण निर्णय भएको र विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा नभएको बताउँदै उनले १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य नभएको बताए। यसबाट विद्युत् व्यापार पनि बढ्ने र लगानीको ढोका पनि खुल्ने बताउँदै यो आउने पिँढीले पनि सम्झिरहने काम भएको उल्लेख गरे। राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले छिट्टै चीनको भ्रमणको तयारी भएको जानकारी गराए। चीनमा पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुने उनले बताए।

एयर रूटका लागि भारतसँग कुरा गरिएको र छिट्टै त्यो निष्कर्षमा पुग्ने बताउँदै उहाँले चीन जाँदा पनि यो विषयमा छलफल हुने बताए। भ्रष्टाचारका सम्बन्धमा प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको र प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको बताउँदै उनले यो प्रक्रिया अगाडि बढिरहेको छ र निरन्तर अगाडि जाने बताए। पोखरामा हिजो सम्पन्न प्रदेशका मुख्यमन्त्रीको गम्भीर छलफलपछि सङ्घीय सरकारका लागि ध्यानाकर्षण गर्न साझा धारणा आएको र त्यो दूरगामी महत्वको रहेको उनले बताए।

त्यस्तै शनिबार सम्पन्न राष्ट्रिय समन्वय परिषद्को बैठकले सर्वसम्मत केही महत्वपूर्ण निर्णय गरेको बताउँदै उनले त्यसले संविधान कार्यान्वयनमा देखापरेका कतिपय समस्यालाई सम्बोधन गर्ने काम गरेको बताए। तीन वटै सरकारको बीचमा समन्वय गर्न र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन बैठकका निर्णय दूरगामी महत्वको रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर