सरकारप्रति माधव नेपालको असन्तुष्टि, सांसदहरूलाई दबाब दिन आह्वान

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । जनताले अपेक्षा गरेअनुसार, जनताले चाहेअनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

६५ औं संसद् दिवसको अवसरमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दबाब दिने काममा लाग्न पनि सांसदलाई आग्रह गरे ।

जनताको प्रतिनिधि भएको नाताले सांसदले उनीहरूको सेवाको काममा केन्द्रित हुन सरकारलाई दबाब दिनुपर्ने उनको भनाइ थियो। अध्यक्ष नेपालले जनसेवाको कामलाई सहज बनाउने गरी अघि बढन सरकार र सांसदको सम्बन्ध पनि सुमधुर हुनुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘‘यो देशको स्वाभिमानको रक्षा गर्ने सन्दर्भमा सबै राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने हुन्छ।अहिले हाम्रो देशलाई विकासको यात्रालाई अगाडि बढाउनुपर्नेछ।जनताले अपेक्षा गरे बमोजिम विकासले गति लिन सकेको छैन। भ्रष्टाचार अहिले पनि व्याप्त छ। जनताको प्रतिनिधिको हैसियतले सांसदले नै यो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’’

अध्यक्ष नेपालले देशको स्वाभिमानको रक्षा गर्ने विषयमा सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा पनि जोड दिए । उनले राष्ट्र निर्माणका लागि पूर्वसांसदको अनुभवले ठूलो काम गर्ने स्मरण गराए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर