गगन थापाको विचारमा कांग्रेस, एमाले र माओवादी पार्टी संकटमा पर्नु एउटै व्यक्ति ५।६ पटक प्रधानमन्त्री बन्नु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन्। उनले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टी आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको जानकारी दिए ।

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले प्रजातन्त्रमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबीसमेत गरे । महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुटन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा एउटा नेता ५, ६ पटक प्रधानमन्त्री भएको छ। कहीँ हुँदैन। कुनै डेमोक्रेसीमा हुँदैन। कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरु खासगरी जमेको पोखरी जस्तै भए। कुनै व्यक्तिको दोष होइन। तर यस्तो कहीँ हुन्छ ? २० वर्षदेखि, २५ वर्षदेखि, ३० वर्षदेखि नेता नबदल्ने कुनै पनि पार्टी हुँदैन। म उमेरको पनि कुरा गर्दिनँ। कांग्रेसमा हामीभन्दा पनि पाको एकसेएक जोश भएको, सोच भएको नेताहरु हुुनुहुन्छ। हामी अमेरिकाको बाइडेनको कुरा गर्छौं। उमेर पनि होइन। त्यही अमेरिकामा एउटा व्यक्ति दुई पटक भन्दा बढी राष्ट्रपति नहुने परम्परा छ। प्रत्येक देशले केही न केही परम्परा बनाएको हुन्छ।’’

उनले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको पनि घोषणा गरे । दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाइ थियो। महामन्त्री थापाले भने, ‘‘नेपाली कांग्रेसले आत्मनिन्दा गरेर पनि हुँदैन। अहंकार पालेर पनि हुँदैन। कांग्रेसले आजको दिनमा गर्नुपर्ने भनेको आत्मा अवलोकन हो। आफ्नो बारेमा समीक्षा गर्नुपर्छ। यो देश बदल्नै पर्छ। बदलिएको कांग्रेसले मात्रै यो काम गर्नसक्छ। तर कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ। म बदलिन तयार छु। दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ। त्यसैले म बदलिन तयार छुँ, सबै तयार हुनुपर्छ।’’

महामन्त्री थापाले कांग्रेस सक्कियो भनेर नआत्तिन सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा कांग्रेस जुटनुपर्ने बताए । उनले गठबन्धन सरकार परिवर्तन हुनसक्ने भए पनि कांग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर