प्रधानमन्त्री प्रचण्डको चिन्ता : “हामी बदलिएपछि मात्रै लोकतान्त्रिक प्रणाली बलियो हुन्छ”

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अचेलभरी गणतन्त्र र संघीयताको विषयमा चिन्ता लाग्न थालेको छ । त्यसैले आजभोलि सार्वजनिक सभासमारोहमा गण्तन्त्र र संघीयताको महत्तामाथि विशेष प्रवचन प्रवाह गर्दै संघीयता र गणतन्त्रविरोधीलाई तगडा जवाफ दिनुपर्ने आवश्यकता औंल्याउँछन् ।

यस्तै प्रधानमन्त्रीलाई गणतन्त्र र संघीयतासम्बन्धी चिन्ता शनिबार पोखरामा आयोजित राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठकको अध्यक्षता गर्दैगर्दा पनि देखियो ।

बैठकमा प्रधानमन्त्रीले भने, “कतिपय शक्तिहरू यस (सङ्घीय गणतन्त्र) लाई ढलाउन सकिन्छ कि भनेर लागिरहेका छन् । पुरातनपन्थी र हावाहुरीबाट आएका शक्तिहरू पनि यसलाई कमजोर पार्न लागिरहेका छन् । त्यसैले लोकतान्त्रिक शक्तिहरूले नै यसको पहल र स्वामित्व लिनुपर्छ । नेपालको भूराजनीतिक संवेदनशीलताका कारण पनि व्यवस्था बलियो बनाउन हामीहरू नै लाग्नुपर्छ ।’’

“राष्ट्रको स्वाधीनता र समृद्धिको नेतृत्व अरूले गर्दैनन् । लोकतन्त्रभित्र देखिएका समस्या समाधानको हैसियत लोकतान्त्रिक शक्ति र दलले नै सक्दछन् । यो जिम्मेवारीलाई सत्तापक्ष, प्रतिपक्ष सबैले ठीक ढङ्गले लिन जरूरी छ’’, उनले भने । “सङ्घीयताविरोधी शक्तिलाई हामीले व्यवहारबाट जवाफ दिन जरूरी छ । त्यसका लागि हाम्रो सोच र कार्यशैली बदल्नुपर्छ । हामी बदलिएपछि मात्रै लोकतान्त्रिक प्रणाली बलियो हुन्छ । सबै तहका सरकारहरू त्यसरी लागौँ । फिल्डका समस्या राम्रोसँग आएका छन्, यसले हामीलाई राम्रो फिडब्याक दिएको छ । यसमा टेकेर अघि बढौँ’’, प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर