मोदी र पुटिनबीच शुक्रबार कुराकानी

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार कुराकानी भएको छ। रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले शुक्रबार दुई नेताबीच टेलिफोनमा कुराकानी भएको जानकारी दिएको छ।

टाइम्स अफ इन्डियाका अनुसार टेलिफोन कुराकानीका क्रममा मोदी र पुटिनबीच रूस-युक्रेन युद्धको पछिल्लो अवस्था र केही दिनअघि रूसमा भएको विद्रोहबारे छलफल भएको थियो। रूसको निजी सैन्य कम्पनी वागनर समूहले गत साता पुटिनविरूद्ध विद्रोह गरेको थियो। उक्त विद्रोह साम्य पार्न पुटिनले चालेका कदमको मोदीले समर्थन गरेको क्रेमलिनले दाबी गरेको छ।

गत वर्ष रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको थियो। रूसको उक्त आक्रमणको पश्चिमा मुलुकहरूले तीव्र विरोध गरेका थिए। भारत भने यो विषयमा अहिलेसम्म तटस्थ बसेको छ। राष्ट्रसंघका विभिन्न निकायहरूमा भएका रूससम्बन्धी मतदानमा भारत कि तटस्थ बसेको छ, कि अनुपस्थित भएको छ।

मोदीले गत साता संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमण गरेका थिए। अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका मोदीले रक्षासहित विभिन्न क्षेत्रमा अमेरिकासँग महत्वपूर्ण सम्झौता गरेका थिए। युक्रेन युद्धमा रूसविरोधी मोर्चामा रहेको अमेरिका भ्रमणबाट फर्किएका मोदीले दस दिन नबित्दै पुटिनसँग गरेको टेलिफोन वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।  –एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर