असार १५ को अवसरमा भक्तपुरको जुजु धौको माग बढ्दो

भक्तपुर । भक्तपुरमा दही कान्छाले परिचित जगाती चोकमा जय शम्भु जुजु सेन्टरका सञ्चालक सिद्धिराम त्यातलाई आज बिहानैदेखि भ्याइनभ्याइ छ । आज धान दिवस अर्थात् असार १५ दही ताइचिन चिउरा खाने दिन, बिहान ५ बजेदेखि नै पसलमा ग्राहक आउन थालेपछि दही बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको हो ।

त्यसो त आज मात्रै होइन, असार १५ नजिकिएसँगै विगत चार दिनदेखि दही बनाउन र बिक्री गर्ने चटारोले दही कान्छालाई आएको अर्डर पूरा गर्न पनि मुस्किल परेको छ । दही कान्छा अर्थात् त्यात भन्छन्, “आजका लागि काठमाडौँ उपत्यकाका धेरै ठाउँबाट दहीको माग आएको छ, त्यसमाथि पनि बिहानैदेखि भक्तपुरवासी दही लिन आइरहनुभएको छ । दैनिक एक हजार लिटर दूधको दही बिक्री गर्दै आएपछि विगत तीन दिनदेखि दैनिक दुई हजार पाँच सय हाराहारी र आज एकैदिन पाँच हजार लिटरभन्दा बढी दही बिक्री हुन्छ ।”

माटोको कतारो, भिउट र कपमा प्रतिलिटर रु दुई सय ६० मा दही बिक्री गर्दै आएका उनले परम्परागत शैलीमै दही उत्पादन गर्ने भएकाले उपभोक्ताको भीड लाग्ने गरेको बताउँछन् । भक्तपुरका दही व्यवसायीहरूबाट मात्रै आज एकैदिन करिब तीन लाख लिटर दूधको दही बिक्री हुने उनले बताए । भक्तपुरमा दही उत्पादन गर्ने व्यवसायी त धेरै छन् तर वर्षौँदेखि प्रयोग गर्दै आएको परम्परागत शैलीमा दही उत्पादन गर्ने व्यवसायी भने थोरै छन्, जसले भक्तपुरको जुजु धौको महिमा र गुणस्तरलाई जोगाइरहेका छन् ।

दही कान्छा भन्छन्, “भक्तपुरमा दही उत्पादन गर्ने व्यवसायी त दुई तीन सय नै छन् तर परम्परागत शैलीमा गुणस्तरीय र स्वादिलो जुजु धौको उत्पादन गर्ने भने ६०–७० जना व्यवसायी मात्रै छन्, जसले भक्तपुरले जुजु धौको स्वादलाई जीवित राखेका छन् ।” परम्परागत शैलीमा जुजु धौ उत्पादन गर्नेहरू सङ्गठित हुँदै जुजु धौ एसोसिएसनसमेत गठन गरेका छन् ।

सैंजु जुजु धौ सेन्टरका सञ्चालक रामप्रसाद सैंजुले आज दहीको माग अत्यधिक बढेको बताउँदै बिहानैदेखि दही लिन आउनेको सङ्ख्या अत्यधिक रहेको बताउँछन् । दूधको अभाव र दूध नै पर्याप्त पाउन छाडेपछि माग भएअनुसारका दही बनाउन समस्या परेको दही व्यवसायीहरूको भनाइ छ । असार १५ का लागि उपत्यकाका किसानको दूधले नपुगेर उपत्यका बाहिरबाट ट्याङ्करमा ल्याएर दही उत्पादन गरेको उनीहरूकोे कथन छ ।

ऐतिहासिक जुजु धौको नाम यसरी रह्यो

‘जुजु धौ’लाई ‘दहीको राजा’ भनेर पनि चिनिन्छ । नेवारी भाषामा ‘जुजु’को अर्थ राजा र ‘धौ’ को अर्थ दही हो । मानिसले पशुपालन गरेदेखि नै दही खान जानेका हुन् । लिच्छवीकालमै दही बनाउने व्यवसाय सुरु भएको पाइन्छ । तर पनि व्यवसायीबीच राम्रो दही बनाउने प्रतिस्पर्धा भने मल्लकालमा आएर सुरु भएको बताइन्छ । काठमाडौंका मल्ल राजा जयस्थिति मल्लले बजारमा पाइने दही राजदरबारमा मगाएको इतिहास रहेको संस्कृतिविद् रामसुन्दर श्रेष्ठ बताउँछन् ।

उनका अनुसार जयस्थिति मल्लले काठमाडौँ, भक्तपुर र ललितपुरबाट दही मगाएको र दही बनाउनेहरूले राजालाई दही पु¥याउन गएछन् । मल्ल राजालाई भक्तपुरको दही अति नै मीठो लाग्यो र त्यसैले भक्तपुरको दहीलाई मल्लकालदेखि नै ‘जुजु धौ’ भन्ने गरियो, जुन इतिहासको रूपमा अहिलेसम्म रहेको छ । दहीलाई सगुनका रूपमा लिइन्छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरण सुरु गर्दा गुरु गोरखनाथले दही खुवाएर आर्शीवाद दिएको इतिहाससमेत रहेको छ ।

यसरी बनाइन्छ जुजु धौ

दही त घरघरमै पनि बनाइन्छ । फरक फरक विधि र आधुनिक तरिकाले अचेल दही बनाउने गरिन्छ । तर जुजु धौ भने परम्परागत शैलीबाट मात्रै बनाउने गरिन्छ । दही कान्छाका नामले परिचित त्यातका अनुसार तातो दूधमा चिनी हालेर माटो, प्लास्टिक वा अन्य भाडामा हालेर फ्रिजमा राखेर पनि दही बनाउने र बिक्री गर्ने प्रचलन अचेल बढेको छ । तर जुजु धौ बनाउने परम्परागत शैली भने फरक छ ।

उनका अनुसार जुजु धौ बनाउन दाउराको आगोमा दूधलाई बाक्लो हुने गरी राम्रोसँग चलाउँदै उमाल्नु पर्दछ । जुजु धौ बनाउन ५ प्रतिशत फ्याट भएको दूध चाहिन्छ । त्यसलाई एक घण्टा ठुलो कराइमा उमालिन्छ । पहिलेपहिले दाउराको आगोमा उमाले पनि समयसँगै ग्यास र आधुनिक मेसिनले दाउरा विस्थापित गरेको पाइन्छ तर आगोमा उमालेको दूधबाट बनेको दहीको स्वाद अझै स्वादिलो हुने गर्छ । गाईको भन्दा भैँसीको दूध दहीका लागि उपयुक्त मानिन्छ ।

दूध उमाल्दा कम्तीमा ४० लिटर दूधलाई ३० लिटर हुने गरी उमाल्नु पर्छ । मगमग बास्ना आउने गरी उमालेर बाक्लो बनेको दूधलाई सकेसम्म हावा नछिर्ने कोठामा भुइँमा फिँजाएको भुसलाई खाल्डो बनाएर राखिएको ठाउँमा पानीले पखालेको माटोको कतरा, भिउँट राखिन्छ ।

सुरुमा आधा भाग मात्र दूध राखिन्छ । दूध सेलाएपछि बाँकी आधा दूधसँगै दहीको जोरन अर्थात् ‘बिउँ दही भाँडामा भरिन्छ । त्यसमाथिबाट माटोकै कतराले नै छोपिन्छ । त्यसलाई माथिबाट बाक्लो सिरक, केही न्यानो हुने बाक्लो कपडा वा जुटको बोराले छोपेर राखिन्छ । त्यसको करिब चार÷पाँच घण्टापछि लटक्क जमेको जुजु धौ तयार हुन्छ । नेवारी भाषामा ‘कला’ भनिने यो माटोको भाँडा ‘जुजु धौ’ बनाउनका लागि अति आवश्यक हुन्छ । कताराले पानी सोस्ने भएका कारण पनि माटाका भाँडा खास मानिन्छ ।

दही कान्छा भन्छन्, “जति बाक्लो हुने गरी दूध उमालिन्छ, जुजु धौ त्यति नै बढी स्वादिलो र मीठो हुन्छ । जुजु धौको प्रमुख विशेषता यसको स्वाद नै हो । न अमिलो न गुलियो, यो मगमग बास्नादार स्वादिलो हुनु नै जुजु धौको प्रमुख विशेषता हो । चक्कुले टुक्रा टुक्रा पारेर काट्न मिल्नु, माटोको कतारोको दहीलाई घोप्टाए पनि नपोखिने यसको अर्को विशेषता हो ।”

जुजु धौको स्वाद र गुणस्तर नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात रहेको छ । भक्तपुर घुम्न आउने स्वदेशी र विदेशी पर्यटक दहीको स्वाद चाखेर मात्रै जाने गर्दछन् । पछिल्लो समय विवाह, व्रतबन्ध, पास्नी वा अन्य शुभकार्यमा पनि परम्परागत शैलीमै उत्पादन भएको जुजु धौ भक्तपुर र उपत्यका बाहिरसमेत लाने गरिन्छ ।

यस्ता छन् चुनौती

काँठ क्षेत्रमा गाई, भैंसीपालन व्यवसाय हराउँदै जानु चुनौतीको रूपमा आएको छ । भक्तपुरलगायत काँठ क्षेत्रमा भैँसीपालन ७५ प्रतिशतले घटेपछि दूधको अभाव भएको छ । दहीका लागि आवश्यक दूध भक्तपुर र यहाँका काँठ क्षेत्रबाट सङ्कलन गरेर ल्याइन्छ भने त्यसबाहेक ७० प्रतिशत दूध उपत्यका बाहिरका जिल्लाबाट ट्याङ्करमा ल्याउने गरेको दही एसोसिएसनको भनाइ छ । दूधको अभाव दही उत्पादनमा चुनौती बनेको छ ।

अर्को चुनौतीको रूपमा माटोको भाँडोको उत्पादनमा कमी आउनु हो । माटोको भाडा बनाउने कुमालेहरूले माटोकै अभावका कारण यो पेसा छाड्न थालेपछि दहीलाई चाहिने माटोको भाँडोको अभाव अर्को चुनौती हो । कुमालेहरूले पनि कतारो बनाउन छाड्नु जुजु धौ जोगाउन चुनौती बनेको व्यवसायी बताउँछन् । बजारमा फ्रिजमा राखेर आधुनिक शैलीमा प्लास्टिकका बट्टाको दही जमाएर बिक्री गर्दा जुजु धौको पहिचान जोगाउन समस्या भएको व्यवसायीको गुनासो छ ।

आधुनिक शैलीमा बनाएको अमिलो र गुणस्तररहीन दहीलाई पनि जुजु धौ भनेर बिक्री गर्दा पहिचान जोगाउन कठिनाइ भएको एसोसिएनको भनाइ छ । एसोसिएनका अनुसार असार १५ का लागि भक्तपुरबाट मात्रै तीन लाख लिटर दूधको दही उत्पादन भएको छ ।

स्थानीय पाठ्यक्रममा जुजु धौ

मल्लकालदेखि नै भक्तपुरको दहीलाई जुजु धौ भनेको इतिहासलाई जीवित राख्दै जुजु धौ उत्पादनलाई निरन्तरता दिने उद्देश्यले भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा जुजु धौलाई राखेको छ । भक्तपुरको यही जुजु धौको मौलिकता जोगाउन, यसको उपयोगिता, बनाउने विधि, यसको महत्वलाई संरक्षण गर्न भक्तपुर नगरपालिकाले यसलाई स्थानीय पाठ्यक्रममा समावेश गरेको नगर प्रमुख सुनिल प्रजापति बताउँछन् ।

भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ मा जुजु धौलाई पनि समावेश गरिएको उनले बताए । जुजु धौ भक्तपुरको मौलिक उत्पादन भएकाले यसको संरक्षणका लागि पाठ्यक्रममा समावेश गरेको उनको भनाइ छ ।

बढ्दो ताइचिन चिउराको माग

भक्तपुरमा लोकल उत्पादनको रूपमा प्रख्यात ताइचिन चिउराको माग पनि उत्तिकै बढेको छ । दहीसँग ताइचिन चिउरा निकै मीठो र स्वादिलो हुने मान्यताअनुरूप वर्षौँदेखि चिउराका पारखीले ताइचिन चिउरा नै रोज्ने गर्छन् ।

भक्तपुरमा करिब २५ वटा चिउरा मिलबाट दैनिक २५ टन ताइचिन चिउरा उत्पादन हुने गरेको बताउँछन् घरेलु उद्योग सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जती । भक्तपुर नगरपालिका–६ भोलाछेँमा लक्ष्मी चिउरा उद्योगको नामले प्रख्यात जतीको उक्त चिउरा उद्योगमा मात्रै दैनिक ८०० किलो ताइचिन चिउरा बिक्री हुने गरेको उनले बताए । आज असार १५ दही चिउरा खाने दिन काठमाडौँ उपत्यकाका व्यापारी तथा रेस्टुराँहरूमा ताइचिन चिउराको माग बढेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर