भर्नाको आरक्षण खारेज गर्न अमेरिकी सर्वोच्च अदालतको आदेश

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा विद्यार्थी भर्ना सम्बन्धि आरक्षण खारेज गर्न आदेश दिएको छ ।

अमेरिकी विश्वविद्यालयहरुलाई विविधायुक्त बनाउन भन्दै सन् १९६० को दशकमा लागू गरिएको विद्यार्थी भर्नाको आरक्षण अन्त्य गर्न सर्वोच्चले आदेश दिएको हो ।

सर्वोच्च अदालतका ९ जना न्यायाधीश मध्ये ६ जनाको निर्णयको आधारमा गरिएको फैसलामा वर्णलाई आधार मानेर भर्ना गर्नु समानताको हकविरुद्ध हुने ठहर गरिएको छ । हार्वर्ड विश्वविद्यालय र नर्थ क्यारोलाइना विश्वविद्यालयको भर्ना प्रक्रियाबारे स्टुडेन्टस् फर फेयर एडमिसन्स समूहले हालेको मुद्दामा सर्वोच्चले फैसला गरेको हो ।

फैसलाप्रति ३ जना न्यायाधीशले भने फरक मत राखेका छन् । अमेरिकी विश्वविद्यालयहरुमा अश्वेत र हिस्पानिक विद्यार्थीहरुको पहुँच बढाउन लागू गरिएको नीतिको खारेजीले अमेरिकी समाजलाई तरङ्गित बनाएको छ । यसबाट विश्वविद्यालयहरुको भर्नामा ठूलो फरक पर्ने ठानिएको छ । वर्णका आधारमा उपलब्ध हुने कोटा खारेज हुने भएपछि डेमोक्र्याट्सहरु क्रुद्ध भएका छन् भने रिपब्लिकनहरुले फैसलाको स्वागत गरेका छन् ।

राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालतको फैसला सामान्य नभएको भन्दै फैसलाप्रति असहमति जनाउनु भएको छ । अमेरिकी समाजमा अहिले पनि विभेद रहेको भन्दै उहाँले विश्वविद्यालयहरुमा विविधता कायम राख्न शिक्षा मन्त्रालयलाई निर्देशन दिने बताउनु भएको छ ।

सर्वोच्चको फैसलाले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचन पनि प्रभावित हुने आँकलन गरिएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर