कोशी प्रदेशको राजनीति अनिर्णित, विश्वासको मत लिन मुख्यमन्त्रीलाई सकस

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्ताव हिजो बिहीबार निर्णयार्थ प्रस्तुत नगरी आज शुक्रबार प्रस्तुत गर्ने गरी बैठक स्थगित भएको छ । मुख्यमन्त्री कार्कीले बिहीबारको बैठकमा विश्वासको मत लिने प्रस्ताव गरी छलफलसमेत सकिसकेको अवस्थामा मुख्यमन्त्री नै प्रदेश सभाबाट बाहिरिएपछि मुख्यमन्त्रीको विश्वासको मत लिने प्रस्ताव अनिर्णयमा पुगेको थियो ।

प्रदेशसभा सचिवालयले प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने प्रस्तावसँगै निर्णयार्थ प्रस्तुत हुने कार्यसूची प्रकाशन गरेको थियो तर बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस भएन ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेपछि दलका नेताहरू छलफलमा सहभागी भएका थिए । छलफलका क्रममा मुख्यमन्त्रीले विश्वासको मत नपाउने देखेपछि मत विभाजनको प्रक्रिया सुरु गर्नुअघि आधा घण्टाका लागि स्थगित गरिएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिने तयारी गर्न भन्दै मुख्यमन्त्री साँझ ६ बजे प्रदेशसभाबाट बाहिरिएका थिए । त्यसपछि पटक पटक सूचना प्रकाशित गर्दै सरेको बैठक पुनः बस्न सकेन र राति अबेर सूचना टाँस गरेर शुक्रबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

कोशी प्रदेश सभाका कुल ९३ सदस्यमध्ये मुख्यमन्त्री कार्कीको पक्षमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरी ४६ जनाको समर्थन देखिएको छ । एक जना सांसद रहेको जनता समाजवादी पार्टी तटस्थ बस्दा विपक्षीतर्फ नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार गरी ४६ मत नै देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर