जसपामा अध्यक्ष शक्तिशाली बन्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले बनाएको नयाँ विधानमा पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव झनै शक्तिशाली बन्ने भएका छन् । नयाँ विधान भने लागु भएको छैन । पार्टीका प्रवक्ता मनीष सुमनका अनुसार काठमाडौंमा तिन दिनसम्म चलेको अधिवेशनबाट प्राप्त सल्लाह र सुझावलाई आधार मानेर पार्टीले मस्यौदा परिमार्जन गरी नयाँ विधान प्रमाणीकरण गर्न ६ सदस्यीय समिति बनाएको छ । उक्त समितिलाई मस्यौदा परिमार्जन गर्ने अधिकार मात्र छैन, विधान लागु गर्ने र प्रमाणीकरण गर्ने अधिकारसमेत दिइएको प्रवक्ता सुमनले बताए ।

विधान मस्यौदामा कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव, रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, सुशीला श्रेष्ठ, लालबाबु राउत तथा दीपेन्द्र झा रहेका छन् । यसअघि विधान अधिवेशनमा सहभागी भएका प्रतिनिधिलाई १० वटा समूहमा बाँडिएको थियो । प्रत्येक समूहबाट छुट्टाछुट्टै सल्लाह मागिएको थियो । सो अधिवेशनले पास गरेको मस्यौदामा संघीय परिषद् अध्यक्ष र कार्यकारिणी समिति अध्यक्ष गरी दुईवटा अध्यक्षको व्यवस्था कायमै राखिएको छ । अहिले संघीय परिषद् अध्यक्षमा अशोक राई छन् भने कार्यकारिणी अध्यक्षमा उपेन्द्र यादव छन् । विधानको मस्यौदामा संघीय परिषद् अध्यक्ष पद खारेज नगरे पनि संघीय परिषद् अध्यक्षको अधिकार कटौती गरिएको छ ।

संघीय परिषद्को अधिकार कटौती गरी कार्यकारिणी अध्यक्षलाई दिइएको छ । ‘मस्यौदामा संघीय परिषद् अध्यक्षको व्यवस्था गरिएको छ तर अधिकारको विषयमा व्याख्या गरिएको छैन,’प्रवक्ता सुमनले भने, ‘विधान अधिवेशनमा संघीय परिषद्को अध्यक्ष खारेज गर्नुपर्छ भन्नेसम्मको सुझाव आएको थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर