युवा कांग्रेस गठन गर्नुपर्ने नेता नैनसिंह महरको अवधारणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औंल्याएका छन् । काठमाडौंमा आयोजित नेविसंघ र तरुणदलका नेताहरूसँगको छलफल कार्यक्रममा उनले युवा कांग्रेस आजको आवश्यकता भएको पनि उल्लेख गरे । ‘“पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिनु त छ नै । सँगसँगै युवा कांग्रेस गठनसमेत आजको आवश्यकता बनेको छ । पार्टीले एउटा नयाँ भ्रातृ संस्था गठन गर्नुपर्छ । जुन जनताको आकर्षणको केन्द्र बन्न सकोस,’’ उनले भने ।

युवा कांग्रेसलाई भ्रातृ संगठनको राजनीतिबाट बाहिरिएका र विभिन्न वर्ग, पेशा र दलबाट कांग्रेसमा काम गर्न ईच्छुक नेताका लागि स्कुलका रूपमा विकास गर्न सकिने उनको भनाइ छ ।

पार्टी र सरकार सञ्चालनको सैद्धान्तिक र व्यवहारिक सीप सिकाउने थलोका रूपमा युवा कांग्रेस बनाउन सकिने नेता महरको अवधारणा छ । ‘‘पार्टीको महासमिति र महाधिवेशनमा पनि मैले यो एजेन्डा उठाएको थिएँ । अहिले यसको सान्दर्भिकता झनै बढ्दै गएको छ । नयाँ पार्टीहरू आएका छन् । हामीले पनि नागरिकमा नयाँ आभास गराउन युवा कांग्रेस गठन गर्नुपर्छ’’, उनले भने।

२०५१ सालको मध्यावधि चुनावपछि पार्टीमा सङ्कट देखिँदा २०५४ सालमा तरुण दल ब्युँताइएको स्मरण गर्दै अहिले पनि युवा कांग्रेस बनाउनुपर्ने महरको तर्क छ । उनले भने, ‘‘अहिले पनि पार्टीमा सङकट देखिएको छ । युवा कांग्रेस गठन गर्दा पार्टीलाई सँकटबाट बाहिर निकाल्न मद्दत पुग्छ । यसमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदछु ।’’

पार्टीमा वैचारिक बहस सुस्ताएको भन्दै युवा कांग्रेसमार्फत् त्यसको उठान गर्न सकिने उनको विचार रहेको छ । राजनीतिक नेता कार्यकर्ताले विकास, राजनीति, समाज, अर्थतन्त्र र नैतिक अनुशासन सिक्ने ट्रेनिङ सेन्टरका रूपमा युवा कांग्रेसलाई विकास गर्न सकिने र विभिन्न क्षेत्रमा ख्याति प्राप्ति व्यक्तिका लागि युवा कांग्रेसलाई पार्टीको प्रवेशद्वार बनाउन सकिने महरको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर