जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन् : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रतिपक्षी दलका सांसदहरूले जिल्ला निर्वाचन कार्यालयका विषयमा उठाएकोबारेमा स्पष्ट पार्दै अर्थमन्त्री डा महतले आफू लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै आम नागरिकले निष्पक्ष र भयरहित वातावरणमा स्वतन्त्रतापूर्वक निर्वाचनमा भाग लिन पाउने मान्यताप्रति सरकार विचलित नहुने बताए ।

“हामीले निर्वाचन आयोगको स्वतन्त्रतालाई कत्ति पनि तलमाथि पार्न दिँदैनौँ । यो हाम्रो विश्वास हो”, मन्त्री महतले भने, “जिल्ला निर्वाचन कार्यालयहरू अझ स्वतन्त्र र प्रभावकारी बनाउन पहल गरिनेछ, खारेज हुनेछैन ।”
अर्थमन्त्री महतले निर्वाचन आयोगको स्वतन्त्र अस्तित्वको पक्षमा आफूहरू अडिग रहेकाले यसमा कुनै शङ्का उत्पन्न हुन नदिन सरकारको सम्पूर्ण कोसिस रहने समेत प्रतिबद्धता व्यक्त गरे । उहाँले आगामी आर्थिक वर्षको बजेटमा विभिन्न कार्यालयको पुनरावलोकन गर्ने क्रममा जिल्ला निर्वाचन कार्यालयको सन्दर्भ उल्लेख गरिएको दाबी गरे ।
अर्थमन्त्री डा. महतले आर्थिक मितव्ययिताका लागि कतिपय कार्यालयका सम्बन्धमा निष्कर्षमा पुग्नुपरेको भए पनि जिल्ला निर्वाचन कार्यालय ‘खारेजी’ भन्ने शब्दावली बजेट वक्तव्यमा पर्न गएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर