जलहरीमा प्रयोग भएको सुनको तौल १०७ किलो ४ सय ६८ ग्राम

काठमाडौं । पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरीको तौल लिने कार्य सकिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानको क्रममा सोमबार बिहान सुनको जलहरीको तौल लिइएको हो। मूल शिवलिङ्गको जलहरीमा प्रयोग भएको सुनको तौल १०७ किलो ४ सय ६८ ग्राम भएको बताइएको छ ।

जलहरीको तौल अख्तियारले गरेका कारण पशुपति क्षेत्र विकास कोषले यसबारेमा केही जानकारी दिन चाहेन । तौलमा संलग्न अख्तियारका कर्मचारीहरूले अनुसन्धान सकिएपछि आधिकारिक जानकारी आउने बताएका छन् । पशुपतिनाथ मन्दिरको मूल शिवलिङ्गमा ११ फागुन २०७७ मा सुनको जलहरी राखिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै १०८ किलो सुन प्रयोग गरेर मूल शिवलिङ्गमा जलहरी राख्ने निर्णय भएको थियो। तर, ११ किलो सुन गायब पारिएको भन्दै २ वर्ष अगाडि नै अख्तियारमा उजुरी परेको थियो। उजुरी परेको २ वर्षसम्म अख्तियारले अनुसन्धानमा तदारुकता नदेखाए पनि पछिल्लो समय संसद्‌मै उक्त विषयले विवाद भएपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो । जलहरीको सुन जोख्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आइतबार पशुपतिमा गएको थियो।

अख्तियारको टोलीका साथै पशुपति क्षेत्र विकास कोष, खानी तथा भू–गर्भ विभाग, पूरातत्व विभाग, गुणस्तर तथा नापतौल विभाग, नेपाली सेना, नेपाल प्रहरी र सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिसमेतको उपस्थितिमा जलहरीको सुन जोखिएको हो।

यसैबीच कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले राष्ट्र बैङ्कबाट दुई पटक गरी १०३ किलो ७९३।१०० ग्राम सुन खरिद गरिएको बताए । उनका अनुसार सुरक्षाको जिम्मा सरकारले नै खटाएको विमानस्थलस्थित कालीदल गणले लिएको र सेनाकै रोहवरमा पशुपति क्षेत्रको रुद्रगारेश्वरस्थित ज्यासलमा राखिएर जलहरी बनाइएको बताए । उनले जलहरी निर्माणका क्रममा तयार गरिएको मुचुल्काबमोजिम ९६ किलो ८२२ ग्राम सुनको जलहरी बनाएर चाँदीको जलहरीमाथि राखिएको र बाँकी रहेको १० किलो ९७६ ग्राम सुनमध्ये जलहरीको माथिल्लो भागको सुरक्षाका लागि रिङ, पेटी तथा सुनका किला बनाइएको हो। उनले बाँकी रहेका टुक्राटाक्री सुन सेफमा राखिएको र सोको पनि नापतौल भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर