बच्चाहरूलाई मोबाइल देखाएर खाना खुवाउने नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । सरकारले मस्तिष्क विकास हुने उमेरमा मोबाइलको लत नलगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सूचना प्रकाशित गरी मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुग्ने हुँदा बालबालिकालाई मोबाइलको लत नलगाउन आग्रह गरेको हो ।
बालबलिकाले आफैँ मोबाइल नचलाउने तर अभिभावकले अत्यधिक मोबाइल प्रयोग गर्दा उनीहरुले देखेर सिक्ने हुँदा अभिभावकलाई पनि अत्यधिक मोबाइल नचलाउन मन्त्रालयले आग्रह गरेको छ। आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउन मन्त्रालयको अनुरोध छ ।
मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले कस्तो खानेकुरा खाँदैछु, कस्ता स्वादको खानेकुरा खाँदैछु भनेर थाहा नहुने हुँदा भविष्यमा पोषणसम्बन्धी समस्या, पाचन प्रणालीमा समस्या हुन सक्ने सूचनामा उल्लेख गरेको छ ।
खाना खुवाउँदा अभिभावकले बच्चाहरुसँग बोलेर, खेलेर, डुलाएर, गीत गाएर तथा उनीहरुको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका अनुसार मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिँदै जानसक्छ । साथै रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने, निद्रा ढिलो लाग्ने, निद्र पातलो हुने र निद्राबाट पटक–पटक ब्युझँने समस्या देखिने हुन सक्छ ।
मोबाइलमा लत लागेका बालबालिकामा बच्चा ठूलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुनसक्छ । साथै, सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रिनबाट आउने उज्यालोले निद्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने अध्यननले देखाएको छ । (तस्बिरः सांकेतिक)