पशुपतिनाथको जलहरि निर्माणमा अख्तियारको छानविन

काठमाडौं ।  पशुपतिनाथको मन्दिरमा जलहरि निर्माणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अगाडि बढाएको छ। पशुपतिको मूल शिवलिङ्गमा सुनको जलहरि जडान गर्दा आर्थिक अनियमितता भएको विषय उठेपछि अख्तियारले अनुसन्धान अगाडि बढाएको हो। अख्तियार स्रोतका अनुसार छानबिनका लागि छुट्टै टोली गठन गरिएको छ। अख्तियारको टोलीले आइतबार जलहरिको जाँच गर्नेसमेत अख्तियार स्रोतले जानकारी दिएको छ। ‘जलहरिको जाँच गर्न हाम्रो टोली पशुपति गएको छ,’ अख्तियार स्रोतले भन्यो।

अख्तियार स्रोतका अनुसार अहिले मूल शिवलिङ्ग क्षेत्र हेरेर सामान्य जानकारी दिइएको छ। विस्तृत जाँच भने आइतबार रातिबाट सुरु हुनेछ। ‘हामीले मूल शिवलिङ्ग र जलहरि हेरेर सामान्य जानकारी लिएका छौं। सोसँग सम्बन्धित कागजातहरु पनि अध्ययन भइरहेका छन्,’ स्रोतले भन्यो, ‘विस्तृत जाँच आज रातिबाट सुरु हुन्छ।’
प्रतिनिधिसभा बैठकमा नै पशुपतिमा सुनको जलहरि राख्ने क्रममा अनियमितता भएको विषय सार्वजनिक भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी राखेको भनेर काण्ड सार्वजनिक भएको भन्दै माओवादी केन्द्रका सांसदले अभिव्यक्ति दिएपछि एमालेले विरोध नै जनाएको थियो। सरकारको नीति तथा कार्यक्रमाथिको छलफलका क्रममा जेठ १० गते (मंगलबार) को प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले भनेका थिए, ‘उहाँ (केपी ओली) सरकारमा बस्दाखेरी कति भ्रष्टचारका काण्डहरु आए। यति, ओम्नी, स्वास्थ सामग्रीका २ अर्ब भ्रष्टचार। त्यति मात्र होइन पशुपतिको जलहरी लगाउँदा पनि सुनको लगाउने भनेर पित्तल लाएर गरेका सयौँ भ्रष्टचारहरु छन्।’

यही विषयलाई लिएर एमाले जेठ १२ गते (शुक्रबार) को बेठकमा विरोध जनाउँदै बैठक नै अवरुद्ध पारेको थियो। पछि उक्त विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै स्पष्टीकरण दिनुपरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेपछि मन्दिरमा सुनको जलहरि राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए। त्यसपछि जलहरी निर्माण प्रक्रिया अघि बढेको थियो। २०७७ साल फागुन १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरिको साइत गरेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर