रास्वपालाई १ नम्बरको पार्टी बनाउन पद त्याग गर्ने हृदय राख्न लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी २०८४ सालको निर्वाचनमा रास्वपालाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीभित्रका नेता, कार्यकर्ताहरुले असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढनुपर्ने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा उनले भने, ‘कुनै पनि बेला असल मानिसका लागि मैले अहिले लिइरहेको पद र जिम्मेवारी उसलाई दिएर म उसको सहयोगी हुन सक्छु र यो कम्तीमा पनि २०८४ सालसम्म तपाइँहरुसँग यो सोच छ भने पार्टीलाई मुलुकको एक नम्बरको बन्न कसैले रोक्न सक्दैन ।’

सभापति लामिछानेले भने, “‘म त पहिल्यैदेखि बसेको हुँ भनेर जनताले पत्याउनेवाला छैन। जनताले त त्यस्तो मानिस खोजिरहेका छन् जसका काँधमा यो देशको जिम्मेवारी दिन सकियोस् । त्यस अर्थमा अहिले जति पनि साथीहरुले जिम्मेवारी लिइरहनु भएको छ। मेरो विनम्रतापूर्वक अनुरोध छ–त्यो जिम्मेवारी आफ्नो व्यक्तिगत चाहनाका लागि म त फलानो पार्टीको यो सदस्य हो नि।’ ‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरु पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने छ ।”

सभापति लामिछानेले नयाँ पार्टी र व्यक्तिहरुबीच फाटो ल्याउन ठूला दलहरुले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने ठोकुवा गरे ।
‘पद यो हो नि भनेर एउटा भिजिटिङ कार्डमा गज्जब पद लेख्ने लोभमा पार्टीको पद ओगट्ने होइन कि साँच्चै नै त्यो पदको गरिमा बढाउनका निमित्त मुलुकको परिवर्तनको निमित्त यो अभियान सुरु भएको छ। म त्यो अभियानको एउटा सिपाइँ हुँ,’ उनले भने, ‘म सिपाइँ भएर काम गर्न सक्छु, पद मेरो लागि ठूलो कुरा होइन। पदमा त्यही आउँछ, जो जान्दछ। जान्नेलाई छान्ने भन्नुभयो भने बस पुगिहाल्छ। मैले बारम्बार भन्ने गरेको छु साथीहरुलाई लेखेर पनि राख्नुस है ठूलो अक्षरमा बिर्सेला भनेर हिजो अस्ति पनि भनेको थिएँ कि हामी लड्यौं भने आफ्नै गोडामा अल्झिएर मात्रै लड्छौं।’

सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत् असहिष्णु व्यवहार प्रर्दशन नगर्न पनि पार्टीका कार्यकर्ता र समर्थकहरुलाई सचेत गराए। ‘हाम्रा समर्थकहरु, हाम्रा सदस्यहरु सामाजिक सञ्जालमा असहिष्णु छन्। असाध्यै धेरै गालीगलौैज गर्छन् भनेर आरोप लागेको छ। अब त्यो आरोप खपेर बस्न मिल्दैन। एउटा राजनीतिक दलका रुपमा समर्थकहरुले जे मन लाग्यो, त्यही भनिरहँदाखेरी त्यो दलको नेताहरुलाई त्यसको असर पर्छ,,’ उनले भने, ‘यो माया गर्नुहुने, समर्थन गर्नुहुने तपाइँ साथीहरुका अगाडि नभने मैले कसका अगाडि भन्ने? मैले तपाइँहरुलाई यति बिन्ती नगरे कसलाई गर्ने?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर