श्रीलंकाले ओमानविरुद्ध सहज जित निकाल्याे

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा श्रीलंकाले ओमानविरुद्ध सहज जित निकालेको छ ।

जिम्बावेको राजधानी हरारेमा रहेको क्विन्स स्पोर्टस् क्लबमा भएको खेलमा श्रीलंकाले १० विकेटको जित हात पारेको हो।

ओमानले दिएको ९९ रनको लक्ष्य श्रीलंकाले बिना विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्यो ।

श्रीलंकाको जितमा दिमुथ करुणारत्नेले ५१ बलमा ८ चारको सहयोगमा अविजित ६१ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर पथुम निशंकाले ३९ बलमा ५ चौकाको सहयोगमा अविजित ३७ रन बनाए ।

ओमानले ५ बलरको प्रयोग गर्दा कसैले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३० दशमलब २ ओभरमा ९८ रन बनाउदै अलआउट भएको थियो ।

ओमानका लागि आयान खानले ६० बलमा ४ चौकाको सहयोगमा ४१ रन बनाए । आयान वानिन्दु हसरंगाको बलमा आउट भएका थिए । ओमानका कुनै खेलाडीहरुका बीचमा श्रीलंकाका बलरहरुले साझेदारी बन्न दिएनन् ।

पाँचौ विकेटका लागि आयान खान र जतिन्दर सिंहले ६४ बलमा ५२ रनको बलियो साझेदारी गरेका थिए । सिंह ४३ बलमा २१ रनमा वानिन्दु हसरंगाको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो ।

फैयज बटले २८ बलमा अविजित १३ रन जोडेका थिए ।

फैयज बट, आयान खान र जतिन्दर सिंह बाहेक ओमानका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ५ तथा लाहिरु कुमाराले ३ विकेट लिए । कसुन रन्जिथाले १ विकेट आफ्नो नाम गरे।

दोस्रो खेलमा लगातार दोस्रो जित हात पारेको श्रीलंका ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । जितका साथ श्रीलंकाको सुपर सिक्समा प्रवेशको सम्भावना लगभग पक्का भएको छ ।

तेस्रो खेलमा पहिलो हारका साथ ओमान दोस्रो स्थानमा झरेको छ । पराजित भए पनि ओमानको सुपर सिक्समा प्रवेशको सम्भावना बलियो रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर