सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरू पर्याप्त छैनन् : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरु पर्याप्त नभएको बताएकी छन् । शुक्रबार प्रतिनिधि सभाको दोस्रो बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले त्यस्तो बताएकी हुन् ।

सांसद श्रेष्ठले पश्चिम नेपालमा भूकम्प आउने खतरा विज्ञहरूलै औंल्याए पनि त्यसको बारेमा बजेटमा कुनै कार्यक्रम नआएको बताइन् । उनले विपद् पोर्टल पालिका स्तरमा पुर्याउने कुरा बजेटमा उल्लेख भए पनि जनशक्तिको अभावमा कार्यान्वयन हुन सक्ने अवस्था नरहेको बताइन् ।

सांसद श्रेष्ठले भनिन्, ‘विपद् व्यवस्थापनका तत्कालीन, मध्यम अवधि र दीर्घकालीन रणनीतिहरु पर्याप्त भएन । यो बजेटको कार्यक्रममा त्यो देखिएको छैन । पश्चिम नेपालमा अनुमानित भूकम्प, ठूलो भुकम्प जान्छ भनेर धेरै विज्ञहरुले भनिसकेका छन् । त्यसको लागि मैले यो बजेटको कार्यक्रममा देखिन । विपदका बेला मन्त्रालयहरुबीच तालमेल मिलाउन डिजाइनले मात्रै पुग्दैन ।’

सांसद श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संचालनमा ल्याइएको ‘हेलो सरकार’ कार्यक्रमलाई प्रभावकारी बनाउन, सशक्त बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर