मनसुन गण्डकीभन्दा पश्चिम जान सकेन

काठमाडौं । नेपालमा मनसुन भित्रिएको आज एक हप्ता पुगेको छ । गत मंगलबार नेपालको पूर्वी भू–भागबाट भित्रिएको मनसुन सोही दिन गण्डकी प्रदेशसम्म पुगेको थियो ।

नेपाल भित्रिएकै दिन गण्डकी प्रदेशसम्म पुगेको मनसुन त्यसभन्दा पश्चिम अझै जान सकेको छैन । अरेवियन सागरमा रहेको विपर जोय चक्रवातका कारण मनसुन गण्डकीबाट पश्चिम सर्न नसकेको मौसमविद् रोजन लामिछाने बताउँछन् । अहिले सुदूरपश्चिममा क्षेत्रमा भइरहेको वर्षा पनि मनसुनी वर्षा होइन । पश्चिमी र स्थानीय वायुको प्रभावले भएको वर्षा हो ।

“अब क्रमशः विपर जोय चक्रवात कमजोर हुँदैछ । त्यसैले अबको एक/दुईदिनमा यो चक्रवात पूर्णरूपमा कमजोर हुनेछ र नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुनेछ,” मौसमविद् रोजन भन्छन्, “जोय चक्रवात कमजोर भएपछि अबको एक/दुईदिनमा गण्डकीबाट पश्चिम सर्दै मनसुन  सुदूरपश्चिमसम्म पुग्नेछ ।”

औसतमा मनसुन नेपाली प्रवेश गरेपछि देशभर फैलिन पाँचदेखि सात दिन लाग्छ । तर, यो वर्ष औसतभन्दा केही दिन बढी लाग्ने देखिएको उनको भनाइ छ । नेपालमा मनसुन भित्रिएको आज आठ दिन भएको छ । तर, मनसुन गण्डकी प्रदेशकै आसपाससम्म मात्रै सक्रिय छ । त्यसबाट पश्चिममा पश्चिमी र स्थानीय वायु सक्रिय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर