प्रधानमन्त्री प्रचण्डले मेलम्ची वासिन्दालाई दिए मीठो आश्वासन र भने, “याङ्ग्री र लार्केको काममा तदारूकता दिनू”

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत याङ्ग्री र लार्केको दोस्रो फेजको काम तारुकताका साथ अगाडि बढाउनुपर्ने बताएका छन्। मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमणका सिलसिलामा शनिबार उनले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘मेलम्ची बहुचर्चित धेरै छलफल हुँदै आएको राष्ट्रिय गौरवको आयोजना हो। यस आयोजनालाई समयमै सम्पन्न गर्ने र काठमाडौंवासीलाई खानेपानी र यस वरपरका जनतालाई आवश्यक सुविधा उपलब्ध गराउने उद्देश्यका साथ यो आयोजना सुरु गरिएको हो। काठमाडौंका जनतालाई खानेपानीको समस्याबाट मुक्त गर्ने धेरै संवेदनशील कुरा हो। जसरी यस क्षेत्रका मान्छेले काठमाडौंका मान्छेलाई सहयोग गरेका छन्, ती जनताको आवाज पनि सुन्नुपर्ने आवश्यकता हो।’’

प्रधानमन्त्रीले भने, ‘‘गत कालमा यहाँ आएको बाढी कसैले पनि प्रक्षेपण गरिएको कुरा होइन। यत्रो बाढी आउला भनेर आयोजना निर्माण गर्ने समयमा इन्जिनियर वा त्यो कसैले पनि परिकल्पना गर्ने विषय होइन। जे भए पनि दुई वर्ष पहिले असार १ गते गरेको निर्णयले काम भएछ। समयमै पानी बन्द नगरिएको भए टनेल गेगरले भरिएर सम्पूर्ण परियोजना नै असफल हुनसक्ने खतरा थियो।’’

उनले भने, ‘‘याङ्ग्री र लार्केको दोस्रो फेजलाई तदारुकताका साथ काम गर्नुपर्ने हुन्छ। राज्यको, सरकारको तर्फबाट त्यसलाई अगाडि बढाउने काममा उच्च प्राथमिकता दिनुपर्छ। पहिरो जाला कि भन्ने डर भएको हुनाले अर्को विकल्पको पनि तयारी गर्नुपर्ने देखियो।’’

प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारले केन्द्रले यहाँको जनताको पीर, मर्कामा जति क्षतिपूर्ति हुनुपर्ने हो। त्यो केन्द्रीय सरकारबाट हुन नसकेको विषयमा ध्यानाकर्षण भएको बताउँदै यो विषयलाई आफूले गम्भीर रुपमा लिएको बताए । निकै जटिल र अप्ठ्यारो परिस्थितिमा पनि काठमाडौंमा पानी पुर्याउने जमर्को गरेकोमा इन्जिनियर र प्राविधिकलाई प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गरे ।
आयोजनाको प्रत्यक्ष अवलोकन पश्चात् मेलम्ची परियोजनाबाहेक आकस्मिक कामका लागि छुट्टै रकम छुट्याउनुपर्ने आवश्यकता रहेको प्रधानमन्त्रीले औंल्याए ।

प्रधानमन्त्रीले भने, ‘‘खानेपानीको काम सम्पन्न भइहाल्यो भनेर अचानक विकास समिति खारेज गर्ने, काम पूरा नगर्ने, यहाँ अचानक काम गर्नुपर्यो भने, अर्को दुर्घटना हुन लाग्यो भने तुरुन्तै केही गर्नुपर्ने होला। यसको लागि पनि केही न केही रकम सरकारले अलग्गै छुट्याउनुपर्छ। परियोजनाबाहेक पनि यसो गर्नुपर्छ भन्ने मेरो ध्यान गएको छ। मेरो प्रत्यक्ष अवलोकनबाट यो परियोजना पूरा गर्नेुका साथै आकस्मिक हुन आउने घटनालाई रोकथाम गर्ने कुरा पनि मेरोतर्फबाट हुनेछ। स्थानीय जनताका लागि हुनसक्ने काम पनि हुन्छ।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर