बालेनकाे चेतावनी : विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्‍याए कारबाही गरिन्छ

काठमाडौं । सामुदायिक बिद्यालय बन्द गर्ने बिषय बाहिर आएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्‍याए कारबाही गर्ने चेतावनी दिएका छन्।

विद्यालयमा कुनै पनि खालको बन्द गर्ने काम स्वीकार्य नभएको भन्दै शनिबार सामाजिक सञ्जालमार्फत उनले विद्यालय बन्द गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

कहिँ कतै कसैको प्रभावमा नपरि महानगरका सम्पूर्ण सामुदायिक विद्यालय, त्यहाँ कार्यरत कर्मचारी एवं विद्यालय व्यवस्थापन समितिलाई विद्यालय सञ्चालनको लागि शाहले निर्देशन दिएका छन्।

आइतबार सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भन्ने समाचारको ध्यानाकर्षण भएको शाहले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

विद्यालय शान्ति क्षेत्र भएको र त्यहाँ कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि बन्द, हडताल र अवरोध गर्न नपाइने कानुनी व्यवस्था रहेको उनले उल्लेख गरेका छन्।

मेयर शाहले शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौं महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाउने चेतावनी दिएका छन्।

यस्तै विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा वा बाधा पुर्‍याएमा समिति नै विघटन गर्ने उल्लेख गरेका छन्।

कुनै पनि संस्थाले बल प्रयोग गरेमा प्रहरीसँग समन्वय गरी फौजदारी मुद्दा चलाउन पहल गर्ने पनि शाहले चेतावनी दिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर