नेपाली विशेषताको समाजवाद स्थापना गर्न मोर्चा घोषणा हुँदै

काठमाडौं । शीर्ष नेताहरूबीच छलफल हुन नसक्दा शुक्रबार समाजवादी मोर्चा घोषणा हुन सकेन। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव शक्रबार काठमाडौँबाहिर भएकाले शीर्ष नेताबीच सामूहिक छलफल हुन नसक्दा मोर्चा घोषणा हुन नसकेको बताए ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टीलगायतका दल मिलेर समाजवादी मोर्चाको घोषणा गर्दैछन्।

मोर्चामा आबद्ध दलहरूले साझा सैद्धान्तिक कार्यक्रमअन्तर्गत नेपाली विशेषताको समाजवाद स्थापना गर्ने भएका छन्। जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता, समानुपातिक समावेशी सिद्धान्त र संविधानप्रति प्रतिबद्ध भएर नेपाली विशेषताको समाजवाद स्थापना मोर्चाको साझा सङ्कल्प हुने जानकारी दिए । उनले भने “मोर्चाको सैद्धान्तिक उद्देश्य भनेको नेपाली विशेषताको समाजवाद स्थापना हो।”

मोर्चामा सहभागी दलका नेताहरूले आलोपालो नेतृत्व गर्ने सहमति भए पनि अन्तिम रूप दिन भने बाँकी छ। उनले तत्काल केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति भएको बताए । मोर्चाको केन्द्रीय सचिवालय पनि बनाइने भएको छ।

त्यस्तै शुक्रबार समाजवादी मोर्चा निर्माणका बारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको थियो।
भेटमा समाजवादी मोर्चा, भारत भ्रमण, सङ्घीय बजेट, शान्तिप्रक्रियाका बाँकी कामलगायतका विषयमा कुराकानी भएको डा. भट्टराईले ट्विट सन्देशबाट जानकारी दिए। उनले भने, “प्रधानमन्त्री प्रचण्डसँग हालैको भारत भ्रमण, सङ्घीय बजेट, सत्य निरूपण तथा मेलमिलाप आयोगलगायतका शान्तिप्रक्रियाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चालगायतका विविध विषयमा विहङ्गम कुराकानी भयो।”

उनले देशमा हालसम्म प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, सङ्गठनात्मक विधिलगायतका विषयमा सबै पक्षबिच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर