नेपालको ओमानविरुद्ध दुई विकेटको रोमाञ्चक जित

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटअघिको अन्तिम वार्मअप खेलमा नेपालले ओमानविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ। नेपालले ओमानबाट पाएको २६८ रनको लक्ष्य ४४।५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक १०१ रन बनाए। शतकीय पारी खेल्ने क्रममा उनले ९४ बलमा १३ चौका र २ छक्का प्रहार गरे।

अर्का ओपनर आसिफ शेख २४ बलमा २३ रन बनाएर आउट भए। कुशलसँग उत्कृष्ट साझेदारी गरेका भीम सार्कीले ५६ रनसहित अर्धशतकीय पारी खेले। ७४ बल खेलेका उनले ९ चौका प्रहार गरे। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २६, रोहित पौडेलले ३१ तथा कुशल मल्लले १७ रन बनाए। ओमानका आकिब इलियासले ४ विकेट लिए। यस्तै, फय्याज बटले दुई तथा कलिमुल्लाहले एक विकेट लिए।

टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २६७ रन बनाएको थियो। ओमानका जिशान मकसुदले १०८ रनसहित शतकीय पारी खेले। अयान खानले ५६ रन बनाए भने शायब खानले ३८ रन बनाए। ओमानविरुद्ध नेपालका सोमपाल कामी एक्लैले ५ विकेट लिए। सन्दीप लामिछानेले ३ विकेट लिँदा करण केसी र प्रतीस जिसीले समान १–१ विकेट लिए। यसअघिको वार्मअप खेलमा नेपाल युएईसँग ३ विकेट, नेदरल्यान्डसँग ५ विकेट र स्कटल्यान्डसँग ७ विकेटले पारजित भएको थियो।

अब नेपालले जिम्बावेमा विश्वकप छनोट खेल्नेछ। विश्वकप छनोटको पहिलो खेलमा नेपालले आइतबार घरेलु टोली जिम्बावेको सामना गर्दैछ। समूह ‘ए’मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स राष्ट्रहरू छन्। (तस्बिरः फाइल)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर