पानीजन्य रोगबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । सरकारले वर्षायाममा देखिने स्वास्थ्य समस्याबाट बच्न पानी उमालेर मात्र पिउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना प्रकाशित गर्दै नेपालमा मनसुन भित्रिएसँगै विभिन्न स्थानमा दिनहुँजसो वर्षा भइरहेको र वर्षासँगै झाडापखाला, हैजा, डेंगुको जोखिम रहने हुँदा यस्तो स्वास्थ्य समस्याबाट बच्न आग्रह गरेको हो।
झाडापखाला, हैजाबाट बच्न मन्त्रालयले सधैँ पानी उमाले वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउने र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। त्यस्तै बासी सडेगलेका खानेकुरा नखाने, खानालाई छोपेर राख्ने, काँचै खान मिल्ने फलफूल र तरकारीको सरसफाइलाई विशेष ध्यान पुर्याउन मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयले खुला रूपमा दिसा पिसाब नगर्ने, चर्पी अनिवार्य प्रयोग गर्ने र दिसा पिसाब गइसिकेपछि साबुन पानीले मिचामिची हात धोएर सुरक्षित रहन आग्रह गरेको छ। साथै एडिस जातका लामखुट्टेको (कालो सेतो छिर्केमिर्के देखिने) टोकाइबाट सर्ने डेंगु रोगबाट बच्न आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिन सुझाव दिएको छ।
घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली, जुनसुकै बेला सुत्दा झूलको प्रयोग गर्ने र पूरै शरीर ढाक्ने लुगा लगाउन मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयले खाद्यान्न तथा खानेपानी वितरण सम्पूर्ण सरोकारवाला निकाय तथा व्यवसायीलाई सचेत रहन आग्रह गरेको छ।