संसदीय समितिमा उजुरीकर्ताहरूको हुलहुज्जत, सुनुवाइ कारवाहीमा अवरोध

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीको छाविन र छलफल गर्न बुधबारका लागि बोलाइएको बैठक कुनै कारवाही नगरिकन टुंगिएको छ ।

संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित व्यक्तिविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग उजुरीको तथ्यबारे जानकारी लिन बोलाएको बैठकमा केही उजुरीकर्ताहरुले आफूहरूलाई पनि सम्मिलित गराई बैठकमा सुनुवाइ हुनुपर्ने माग राखेर समितिलाई दबाब दिएका थिए । उजुरीकर्ताले समितिको विरोध गर्दै आफूहरुले मोडालिटीको कुरा गर्न गए पनि समिति सदस्यहरुले प्रश्न सोधेको र केही नभनीकन काम सकियो जानुस् भन्ने कुरा गरेको भन्दै सुनुवाइ समितिको वैधानिकतामाथि नै प्रश्न उठाए।

उजुरीकर्ताहरुले समितिको कुनै वैधानिकता नभएकाले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश हुन नदिने चेतावनीसमेत जारी गरे। ‘हामीले मोडालिटीको कुरा गरेका थियौं। तर उहाँहरुले तिमीहरुको काम सकियो, जाओ भने। हामी हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश हुन दिँदैनौं’, ती उजुरीककर्ताले भने, ‘यो समितिको कुनै वैधानिकता नै छैन।’

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा उजुरी दिएका ‘पेशवर उजुरीकर्ता’ले सामूहिकरुपमा समितिमा हुलहुज्जत गरेपछि उजुरीकर्ताहरुलाई समितिले बैठक कक्षबाट बाहिर निकालेको थियो। संघीय संसद्को काम कारबाहीमा कसैले विरोध तथा काम गर्नबाट रोक्ने तथा अवरोध सिर्जना गरे संविधानको धारा १०३ अनुसार कारबाही हुनसक्ने व्यवस्था थियो। तर समितिले उनीहरुलाई कुनै कारबाही नगरेर मात्र निकाल्यो।

समितिको बैठक नै अवरोध हुने गरी बैठकमा हुलहुज्जत गर्नेहरुलाई समितिले संविधानको धारा १०३ को उपधारा ८ बमोजिम कारबाही गर्नसक्ने भए पनि त्यसै छोडिएको छ। उजुरीकर्ताहरूसँगको छलफलपछि सुनुवाइ समितिले बिहीबार बिहान ८ बजे प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीलाई पुनः छलफलका लागि बोलाउने निर्णय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर