नेवानिको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पहिलो पटक गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान थालेको छ । सञ्चालनमा आएको १३ महिनापछि मङ्गलबार पहिलो पटक नेपाल एअरलाइन्सको एअर बस ३२० ले व्यावसायिक उडान गरेको हो ।

न्यारोबडी जहाज मङ्गलबार बिहान साढे ८ बजे विमानस्थलमा अवतरण गरेको थियो । पहिलो पटक अवतरण भएको उडानलाई स्वागत गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । यसअघि विमानस्थलमा परीक्षण उडान पनि निगमकै वाइडबडी जहाजबाट नै सुरु गरिएको थियो । २०७९ को जेठ २ गते कुवेतको जजिरा एअरको उडानसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो ।

निगमको जहाज मलेसियाको क्वालालम्पुरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गरेको हो । निगमले सातामा २ वटा उडान क्वालालम्पुरबाट भैरहवा गर्न लागेको हो । निगमले मङ्गलबार र शनिबार गरी दुईवटा उडान गर्नेछ भने निगमले काठमाडौँ–क्वालालम्पुर–गौतम बुद्ध विमानस्थल–काठमाडौँ उडान गर्न लागेको जनाएको छ । निगमको पहिलो उडानको नेतृत्व वरिष्ठ क्याप्टेन दिपु जुवार्चनले गरेका छन् । पहिलो उडानमा ९१ जना यात्रुमध्ये ३१ जना भैरहवा र ६० जना काठमाडौँ जानेछन् । यसअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेका जजिरा र हिमालय एअरलाइन्सले भने उडान बन्द गरिसकेका छन् । हिमालयले गौतम बुद्ध विमानस्थलबाट क्वालालम्पुर ४५ दिनसम्म नियमित उडान गरेको थियो । तर यात्रु नपाएको र उल्लेख्य मात्रामा नोक्सानी भएको भन्दै उडान बन्द गरेको थियो । हिमालयले भने कात्तिक २७ गते उडान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर