प्याज प्रतिकेजी १०० र आलु ६० रुपैयाँ, भ्याट हटाउन व्यवसायीहरूको माग

काठमाडौं । आलुु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट हटाउन तरकारीका थोक व्यवसायीले माग गरेका छन् । नेपाल कृषि उपज आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घले बजेटमार्फत लगाइएको भ्याटका कारण आलु, प्याज महँगो भई उपभोक्ता मारमा पर्ने भन्दै एक पत्रकार सम्मेलनमार्फत खारेज गर्न माग गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आलु, प्याजको आयातमा भ्याट लगाउने व्यवस्था गरेको थियो ।

सङ्घले आलु र प्याजमा लगाइएको भ्याट नहटाएसम्म आयात नगर्ने जनाएको छ । भ्याट लागेयताको डेढ सातादेखि आलु, प्याजको आयात नगरेको सङ्घको भनाइ छ । सङ्घका अध्यक्ष मोहन बानियाँले आलु, प्याजमा नौ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर लगाउँदै आएकामा थप १३ प्रतिशत भ्याट लगाउँदा व्यवसायी हतोत्साही तथा उपभोक्ता मारमा परेको बताए । आलु, प्याजमा १३ प्रतिशत भ्याट लगाउँदा आलु, प्याजको मूल्य एक तिहाइले बढ्ने उनको भनाइ छ । भ्याट बढाउँदा तस्करीबाट आयात भई बजारमा महँगो पर्न जाने र गैरकानुनी ढङ्गबाट प्याज ल्याएर बढी मूल्यमा बिक्री भइरहेको व्यवसायीको भनाइ छ ।

सङ्घका अनुसार नेपालमा ९० देखि ९५ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको छ । यस्तै ५० देखि ६० प्रतिशत आलु भारतबाट आयात हुने सङ्घले जनाएको छ । सरकारले नेपालको उत्पादन बढाउने उद्देश्यले भ्याट लगाएको तर उत्पादन नै नभएका बेला यस्तो नीति ल्याउनु ठीक नभएको व्यवसायीको भनाइ छ ।

आन्तरिक उत्पादन पर्याप्त बनाउन पहल नै नगरी १३ प्रतिशत कर विस्तार गर्दा व्यवसायी र उपभोक्तालाई आर्थिक भार पर्ने पनि सङ्घले जनाएको छ । सङ्घका अनुसार नेपालमा वार्षिक २० अर्ब रुपैयाँबराबरको आलु, प्याज कारोबार हुने गरेकामा स्थानीय उत्पादनले माग धान्न नसक्दा १७ अर्ब रुपैयाँ बराबरको आलु र प्याजको आयात हुने गरेको छ । बजेटअघि प्रतिकेजी ५० रुपैयाँ खुद्रा मूल्य रहेको प्याजको मूल्य अहिले बढेर प्रतिकेजी एक सय रुपैयाँ पुगेको छ । बजेटअघि प्रतिकेजी ३१ रुपैयाँमा कारोबार भएको भारतीय रातो आलु अहिले प्रतिकेजीमा ६० रुपैयाँसम्म पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर