बजेट करेक्सन नभए प्रचण्ड सरकार ढल्ने माधव नेपालको ठोकुवा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले बजेटमा करेक्सन नगरे सत्ता गठबन्धन सरकार संकटमा पर्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको नियमित बैठकपछि सञ्चारकर्मीसँग आइतबार कुराकानी गर्दै नेता नेपालले भने, “सत्ता गठबन्धन पाँच वर्ष चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भए पनि बजेट यथास्थितिमा पास भएमा सरकार ढल्न सक्नेछ । ”

बजेटका बारेमा सबैजना असन्तुष्ट रहेको र प्रधानमन्त्री र अर्थमन्त्रीले लचकता नदेखाए सरकार दुर्घटनामा जाने उनको आँकलन थियो । बजेट तीन जिल्ला गोरखा, डडेलधुरा र नुवाकोट केन्द्रित भएको आरोप लगाउँदै उनले आफूहरुले यथास्थितिमै बजेट पारित हुन नदिने ठोकुवा गरे । नेकपा एकीकृत समाजवादी दुई मन्त्रालयसहित सरकारमा सहभागी छ । सत्तापक्षकै सांसदहरुले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्ने गरेका छन् ।

सत्तापक्षकै सांसदहरु बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा आम नागरिकमा पनि आशंंका उत्पन्न भएको उनले विश्लेषण गरे ।

अर्को प्रसंगमा अध्यक्ष नेपालले भारतीय नयाँ संसद भवनमा अखण्ड भारतको नक्शा राख्ने कुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताए । कम्युनिष्ट नेता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पशुपति जानुभयो नि ? पत्रकारको जिज्ञासामा नेता नेपालले भने, “कोही आस्थाले र कोही चर्चा कमाउनका लागि मन्दिर जाने गरेका छन् ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर