देशभर बढ्दो तापक्रम घट्दै तर मनसुन भित्रन ५ दिन कुर्नु पर्ने

काठमाडौं । नेपालमा मनसुन भित्रिन अझै पाँच दिन लाग्ने भएको छ । मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन भित्रन चारदेखि पाँच दिन लाग्ने जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बङ्गालको खाडीबाट आएको जलवायुक्त हावा अहिले भारतको आकाशमै रहेकाले नेपालमा आइपुग्न चारदेखि पाँच दिन लाग्ने भएको हो ।

उनले भने, ‘‘बङ्गालको खाडीबाट आएको जलवाष्ययुक्त हावा नेपाल आउन अझै चारदेखि पाँच दिन लाग्ने देखिएको छ । हामी यसको नियमित मनिटरिङ गरिरहेका छौँ ।’’ अहिले देशको पूर्वी भागमा मनसुन सुरु हुनेअनुकूल वातावरण निर्माण भएकाले तापक्रम पनि घट्दै जाने उनले बताए । मौसमविद् लामिछानेका अनुसार तराईका अधिकांश स्थान र पहाडी क्षेत्रको तापक्रम शनिबार शुक्रबारको तुलनामा कम हुँदै गएको छ ।

‘‘अब मनसुन सुरु हुने समय नजिकिएकाले पूर्वी क्षेत्रमा मनसुनअनुकूल वातावरण निर्माण भइरहेको छ । जसका कारण देशका पूर्वी तराईका क्षेत्रमा र पहाडी क्षेत्रमा तापक्रम घट्दै गएको छ’’, उनले भने । शनिबार ४०–४२ डिग्री सेल्सियस तापक्रम भएका ठाउँमा आइतबार ३७–३८ डिग्री सेल्सियस रहेको छ । मनसुन सुरु नहुँदासम्म आंशिक बदली भइरहने भएकाले तापक्रम नबढ्ने उनको अनुमान छ । कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आइतबार छिटफुट वर्षाको सम्भावना पनि रहेको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर