नेपालमा हिट वेभ र लूको एकसाथ प्रभाव, उच्च तापक्रमको रेकर्ड तोडिँदै

काठमाडौं । नेपालमा तातो हावा (हिट वेभ) र लू एकसाथ वायुमण्डलमा चलायमान भएकाले विगतका वर्षमा भन्दा अहिले बढी गर्मी भएको छ । यसअघिका रेकर्ड तोडिने क्रम तराईमा मात्र नभई पहाडका विभिन्न भू–भागमा पनि चलिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जलवाष्प नभएको सुक्खा तातो हावा र लूको दोहोरो चाप नेपालको मौसममा परिरहेकाले पहिलेका उच्च तापक्रमको रेकर्ड तोडिन थालेको विभागले जनाएकोछ ।

तापक्रमको पहिलो ‘रेकर्ड ब्रेक’ मध्य तराईको नवलपरासीको दुम्कौली र पहाडी क्षेत्रको ओखलढुङ्गामा एकैदिन भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । तापक्रम ब्रेक हुन पहिले कायम भएको तापक्रमभन्दा माथिको तापक्रम लगातार तीनदेखि पाँच दिनसम्म कायम हुनुपर्ने मापदण्ड रहन्छ।

त्यही अनुसार लगातार तीन दिनसम्म ४३.८ डिग्री सेल्सियस कायम रहँदै दुम्कौलीमा बुधबार अर्थात् जुन ७ तारिखमा यसअघिको तापक्रमको रेकर्ड ब्रेक भएको हो। शुक्रबार त्यहाँ ४४ डिग्री सेल्सियस पुगेको छ। त्यस क्षेत्रमा यसअघि सन् १९७९ जुन ५ तारिखमा अधिकतम तापक्रम ४३.७ डिग्री सेल्सियस कायम भएको थियो। बिहीबार मोरङको कानेपोखरीमा पनि ४४ डिग्री सेल्सियस मापन भएको थियो।

त्यस्तै चिसो हावापानी भएको मानिने ओखलढुङ्गामा तापक्रम बढ्दै बुधबार रेकर्ड ब्रेक हुँदै अधिकतम तापक्रम ३१।३ डिग्री सेल्सियस रेकर्ड भयो। यसअघि त्यस क्षेत्रमा सन् १९९९ अप्रिल २८ तारिखमा अधिकतम तापक्रम ३०.९ डिग्री रेकर्ड भएको थियो।

त्यस्तै इलामको कन्याम चिया बगानमा पनि गत सोमबार हालसम्मकै अत्यधिक तातो ३० डिग्री रेकर्ड भएको छ। त्यहाँ यसअघि सन् १९७३ जुलाई १० तारिखमा २९ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड भएको थियो।

धरान बजारमा पनि यसअघि सन् २०१३ अप्रिल १२ तारिखमा ३८.८ डिग्री सेल्सियस अधिकतम तापक्रम रहेकोमा गत बुधबार ३९.३ डिग्री सेल्सियस पुग्यो। नेपालगन्ज, धनगढी, जनकपुर, विराटनगर, सिमरा, भैरहवा, कपिलवस्तुलगायतका स्थानमा उच्च तापक्रमको दर बढ्ने क्रममा रहेकाले पुरानो रेकर्ड ब्रेक हुने उच्च सम्भावना देखिएको रअहिलेसम्म सन् १९९९ को जुन ५ मा धनगढीमा रेकर्ड भएको ४६.४ डिग्री सेल्सियस सबैभन्दा उच्च तापक्रम हो।

यस वर्ष तापलहर (हिट वेभ) दोहोरिने सम्भावना पनि उच्च रहेको छ। मनसुनमा पनि कम वर्षा हुने अनुमान गरिए अनुसार मनसुनकैबिचमा तापलहर दोहोरिने सम्भावना बढेको र त्यो समयमा पनि विभिन्न क्षेत्रका अधिकतम तथा न्यूनतम दुवैथरीका तापक्रमको रेकर्ड ब्रेक हुन सक्ने सम्भावना कायम रहनेछ।

भारतको केरला आइपुगेको मनसुनको न्यूनचापीय रेखा नेपाल भित्रिन अझै एक साता लाग्ने अनुमान गरिएको छ। एक साताको यात्रापछि अनुमानित जुन १६ मा मनसुन नेपाल भित्रने सम्भावना छ। त्यो दिनदेखि करिब एक साता नेपालमा वर्षा हुनेछ।

अरब सागरमा विकास भएको एलनिनो प्रणालीले वर्षाको निरन्तरता भङ्ग गर्नेछ। जलवाष्पबाहेकको सुक्खा हावा मात्र नेपालमा भित्र्याउन सघाउने भएकाले वर्षामा सोझै असर पर्छ। तथापि बङ्गालको खाडीमा विकास हुने न्यूनचापीय प्रणाली बलियो भएको खण्डमा एलनिनो मौसमी प्रणालीको असर थोरै कम हुन सक्छ। नेपालमा मनसुन राम्रो हुन अरब सागरको लानिनो मौसमी प्रणाली हुनुपर्छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर