प्रधानमन्त्रीको भारत भ्रमणको साँच्चिकैको उपलब्धि १५ वटा राँगा : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले मुलुकलाई तरङ्गित गरेको भन्दै मुलुकको भूमि साटफेरको विषय उठाउनु उचित नरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समयमा ओलीले भने, “मुलुकको भूमि साटफेर गर्ने संवैधानिक व्यवस्था छैन, कुनै ऐन कानुन छैन, यस्तो विषय भ्रमणका बेला उठाउन नै मिल्दैन । मुलुकको भूमि संरक्षण, सार्वभौम तथा राष्ट्रिय अखण्डतामा कसैसँग सम्झौता गर्न सकिँदैन । देशको सीमा समस्या बंगलादेश मोडलमा समाधान गर्न सकिन्न ।”

प्रधानमन्त्री देशको प्रधानमन्त्री र अभिभावक भएकाले देशप्रति जिम्मेवार बन्नुपर्ने अध्यक्ष ओलीले बताउँदै भने, “प्रधानमन्त्रीको अपमान हुँदा व्यक्तिको हुँदैन, देशकै अपमान हुन्छ । देशको प्रधानमन्त्री देशप्रति जवाफदेही हुन्छ, मुलुकप्रति जिम्मेवार हुन्छ ।”

नागरिकता विधेयक संसदमा ल्याएर प्रक्रियामार्फत पारित गरेर प्रमाणीकरण गर्नुपर्ने उनले बताए । संसद बैठकलाई बाइपास गरेर नागरिकताजस्तो गम्भीर विधेयकलाई अगाडि बढाउन नहुने उनले तर्क गरे । सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेकाले पुनः त्यसलाई संसदमा ल्याएर टुङ्गो लगाउनुपर्ने उनको सुझाव थियो।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको साँच्चिकैको उपलब्धि भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताए । उनले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धि हासिल नभएको दाबी गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर