राष्ट्रिय योजना आयोगले पायो पूर्णता

काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगका नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो ।

नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन् । महिला सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । ढुंगाना सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय महिला नेत्री हुन् । युनडिपीमा समेत काम गरेको अनुभव भएका ढुंगानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्वसमेत सम्हालिसकेकी छन् ।

यसअघि आयोगको सदस्यहरुमा डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा र डा. रमेश पौडेल नियुक्त भएको थियो । नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानून, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएको छ ।

यसअघि नियुक्त भएका सदस्यहरुमध्ये डा. फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको थियो भने डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ ।

यसैगरी डा. बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै बागमती प्रदेश, डा. विच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा. पौडेललाई शिक्षा, सहरी विकास, युवा तथा खेलकुद साथै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ ।

उपाध्यक्ष श्रेष्ठको जिम्मामा समष्टिगत आर्थिक क्षेत्र, अर्थ, रक्षा, परराष्ट्र, गृह, भौतिक पूर्वाधार, वैदेशिक सहायता साथै सबै प्रदेशहरुको समन्वय रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर