शेयर लगानीकर्ताहरूको आन्दोलन स्थगित, करमा साविककै व्यवस्था लागू हुने

काठमाडौं । शेयर लगानीकर्ताहरूको आन्दोलन स्थगित भएको छ । आन्दोलनमा रहेका शेयर लगानीकर्ताहरू आइतबार विभिन्न ब्रोकर कार्यालयमा ताला लगाएर आइतबार अर्थ मन्त्रालय पुगेका थिए ।

मन्त्रालयले साविककै व्यवस्था लागू हुन्छ भनी लगानीकर्ताहरूलाई स्पष्ट पारेपछि आन्दोलन स्थगित गरिएको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् । उनले भनिन्, ‘लाभकरको विषयमा हामी अर्थ मन्त्रालय पसेका थियौँ । यसबारे पुरानै व्यवस्था लागू हुन्छ भनेर स्पष्ट पारेपछि हामीले आन्दोलन स्थगित गरेका छौँ ।’

गत शुक्रबारदेखिनै आन्दोलन जारी राखेका लगाकर्ताहरूले कर नीति खारेजीको माग राख्दै आएका थिए । लगानीकर्ताहरूले सरकारले नीति खारेज नगरेसम्म आफ्नो आन्दोलनमा सहयोग गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज नेप्से र ब्रोकरहरूलाई ज्ञापनपत्र बुझाएका थिए ।

धितोपत्र बजारका नियमित कारोबार गर्ने लगानीकर्तालाई सरकारले कर लगाउने उद्घोष यस वर्षको आर्थिक विधेयकमार्फत गरेपछि लगानीकर्ता आन्दोलित भएका हुन् । हाल लगानीकर्ताले नाफा भएको खण्डमा संस्थागतको हकमा १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशतसम्म पुँजीगत लाभकर मात्र तिर्दै आएका छन् ।

व्यक्तिगत लगानीकर्तामा पनि अल्पकालीन लगानीकर्ताले ७ दशमलव ५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर तिर्ने व्यवस्था रहेको छ । लगानीकर्ताहरूले राज्यलाई दोहोरो करको मारमा नपार्न आग्रह गरेका छन् । अर्थ मन्त्रालयले साबिककै कानुनी व्यवस्था कायम भएको स्पष्ट पारेको छ । अर्थ मन्त्रालय अन्तर्गतको राजस्व व्यवस्थापन महाशाखाले एक सूचना जारी गर्दै थप स्पष्ट पारेको हो ।

‘आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले गरेको सूचीकृत धितोपत्र बिक्री गर्दा हुने लाभमा साबिक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको छ । यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७।५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने ब्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको लागि जानकारी गरिएको छ’, मन्त्रालयद्वारा जारी गरेको सूचनामा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर