“गेरु वस्त्र धारण गर्नु नेपालीको विश्वासका लागि”

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाँकालेश्वर मन्दिरमा गेरु वस्त्र लगाएर पूजा गरेको घटना नेपाल र नेपालीको विश्वासका लागि भएको बताएका छन् । प्रधानमन्त्री शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यहाँ आफूले गेरुबस्त्र नलगाउँदा एक अर्ब भारतीयको नजरमा नेपाल र नेपालको प्रधानमन्त्रीप्रति अविश्वास पैदा हुने बताए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो सुरक्षाकर्मीले सकेसम्म गेरुबस्त्र नलगाउन कर गरेको तर मन्दिरमा मुख्य अतिथिले गेरुबस्त्र लगाउनैपर्ने नियमका कारण आफूले पनि लगाएको बताए । ‘प्रोटोकल मिचेर भए पनि लाउन नदिनुस् भन्दाखेरि के हुने भयो भन्दा भारतका करोडौं जनताको मनमा चिसो पस्ने भयो नेपालप्रति र नेपालका प्रधानमन्त्रीप्रति । त्यसले देशलाई फाइदा हुन्थ्यो त ?’ उनले प्रश्न गरे, ‘म लाउन्न भन्दा के हुन्थ्यो त, एक अर्ब मान्छेको मनमा चिसो पस्थ्यो । नेपालीहरु के हो, नेपाल सरकार के हो भन्थे । मैले सहज ढंगले लगाउँदा सबै खुशी ।’

यसैगरी प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका विषयमा प्रवुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदनको विषयमा आफ्नो तर्फबाट कुरा राखेको पनि दावी गरे । उनले इपिजीकै कुरा धेरै उचालेर आर्थिक र द्विपक्षीय सहयोगका अरू क्षेत्रमा भएको परिणाममुखी वातावरण बिगार्न नचाहेको पनि उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर