मदिरा, सूर्तीजन्य वस्तुको इजाजतपत्र र नवीकरण दस्तुरमा वृद्धि

काठमाडौं । सरकारले आर्थिक विधेयक, २०८० मार्फत मदिरा र सूर्तीजन्य वस्तुको उत्पादक, वितरक तथा बिक्रेताको इजाजतपत्र र नवीकरण दस्तुर बढाएको छ ।

आर्थिक विधेयकमार्फत अन्तःशुल्क नियमावली, २०७९ मा भएको संशोधन तथा परिमार्जनबारे आन्तरिक राजस्व विभागले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार स्प्रिट, बियर, इथानोल र अन्य मरिदा उत्पादन गर्ने प्रतिष्ठानको लाइसेन्स र नवीकरण दस्तुर रू ५५ हजारले बढेको हो । यसअघि यस्तो शुल्क रु एक लाख ९५ हजार बराबर रहेकामा त्यसलाई बढाएर रु दुई लाख ५० हजार पुर्‍याइएको छ ।

वाइन, ब्रान्डीजस्ता फलफूलमा आधारित मदिरा बनाउने प्रतिष्ठानको लाइसेन्स र नवीकरण शुल्क रु चार हजारले बढाएर रु एक लाख पुर्‍याइएको छ । चुरोट उत्पादन गर्ने प्रतिष्ठानलाई रु दुई लाख ४० हजार इजाजत तथा नवीकरण दस्तुर लाग्दै आएकामा त्यस्तो शुल्क रु तीन लाख पुगेको छ ।

मदिरा बिक्रीवितरणका लागि होटल, रेस्टुराँ, रिसोर्ट, बारले लिने इजाजत तथा नवीकरण दस्तुर पनि बढेको छ । यस्तो शुल्क यसअघि पाँच तारे होटललाई रु ६० हजार रहेकामा रु ७५ हजार, चारतारे होटललाई रु ४८ हजार रहेकोमा ६० हजार र तीन तारे होटललाई रु ३६ हजार रहेकामा ४५ हजार बनाइएको छ । दुई तारेलाई रु २४ हजार रहेकामा रु ३० हजार र एक तारेलाई रु १२ हजार रहेकोमा रु १५ हजार पुर्‍याइएको छ ।

स्वदेशी तथा विदेशी मदिरा बेच्ने पर्यटकस्तरको रेस्टुरेन्ट, रिसोर्ट तथा पार्टी प्यालेसले इजाजत तथा नवीकरणका लागि रु आठ हजार पाँच सय तिर्दै आएका थिए । अहिले त्यो बढेर रु ११ हजार पुगेको छ । साधारण होटल, रेस्टुरेन्ट, बार तथा लजका लागि रु चार हजार पाँच सय बराबर शुल्क रहेकामा रु छ हजार पुर्‍याइएको छ ।

मदिरा वितरकलाई यस्तो शूल्क रु ३६ हजार बराबर रहेकामा बढेर रु ४५ हजार पुगेको छ । त्यस्तै मदिराको थोक बिक्रेतालाई रु २४ हजार दस्तुर लाग्ने गरेकामा रु ३० हजार पुर्‍याइएको छ ।

मदिरा बिक्री गर्ने खुद्रा बिक्रेताको इजाजत लिन तथा त्यस्तो इजाजत नवीकरण गर्दा लाग्ने शुल्क पनि बढेको छ । यस्तो इजाजत तथा नवीकरणका लागि रु १२ हजार शुल्क लाग्ने गरेकामा अब रु १५ हजार शुल्क लाग्नेछ । त्यस्तै, डिपार्टमेन्टल स्टोरले रु २४ हजार शुल्क तिर्दै आएकामा रु ३० हजार तिर्नुपर्नेछ । विदेशी मदिरा तथा स्प्रिट आयातकर्ताको अनुमति लिन तथा त्यस्तो अनुमतिपत्रको नवीकरणका लागि रु ४८ हजार शुल्क लाग्दै आएकोमा रु ६० हजार पुगेको छ ।

विदेशी चुरोट तथा सिगार, सूर्तीजन्य पदार्थ आयातकर्तालाई रु ४८ हजार बराबर शुल्क लाग्दै आएको थियो । त्यसलाई बढाएर रु ६० हजार तोकिएको छ । त्यस्तै, पान मसला, चुरोट, खैनी, जर्दा, नश, तथा सुर्तीजन्य वस्तुका थोक बिक्रेताको लाइसेन्स तथा नवीकरणका लागि रु सात हजार दुई सय लाग्दै आएकामा अब रु १२ हजार शूल्क लाग्नेछ । यस्ता वस्तुको खुद्रा बिक्रेताका लागि रु दुई हजार शुल्क लाग्दै आएकामा अब रु तीन हजार लाग्नेछ । पान मसला, खैनी, जर्दा, नश, चुरोटबाहेकका सूर्तीजन्य वस्तु उत्पादन गर्ने प्रतिष्ठानका लागि रु एक लाख २० हजार लाग्दै आएकामा अब रु दुई लाख लाग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर