भारतको ओडिशामा रेल दुर्घटना हुँदा २ सय ३३ जना यात्रुको मृत्यु

काठमाडौं । भारतको ओडिशामा रेल दुर्घटना हुँदा २ सय ३३ जना यात्रुको मृत्यु भएको छ भने ९ सय जनाभन्दा बढी घाइते भएका छन्। ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको रेल दुर्घटनामा २२३ यात्रुको मृत्यु भएको र ९ भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन्।

बीबीसी हिन्दी सेवाका अनुसार हावडा(चेन्नई कोरोमण्डल एक्सप्रेस रेल अर्को मालगाडीसँग ठोक्किएर दुर्घटना भएको थियो। साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो। एकै ठाउँमा तीन वटा रेल ठोक्किएको समाचारमा जनाइएको छ।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्विट गर्दै दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको पुष्टि गरेका छन्। उनले दुर्घटनामा परी करिब ९ सय जना घाइते भएको पनि जनाएका छन्। भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन्। उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। यसका साथै उनले गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले शनिबार एक दिन राज्य शोकको घोषणा गरेका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर