राजनीतिक दलको वार्षिक आयव्ययको विवरण भोलिदेखि जाँच गरिने

काठमाडौं । राजनीतिक दलको वार्षिक आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न खटिएका महालेखा परीक्षकको कार्यालयका विज्ञले आइतबारदेखि काम थाल्ने भएका छन्। महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण जाँच गर्न गत मङ्गलबार पाँच जना विज्ञ कर्मचारीको टुङ्गो लगाएको थियो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले महालेखा परीक्षकको कार्यालयले पठाएको कर्मचारीले आइतबारदेखि आयोगमै बसेर काम थाल्ने जानकारी दिए । उनले भने, “विशेषज्ञ कर्मचारीलाई प्रमुख आयुक्त तथा आयुक्तको उपस्थितिमा उहाँहरूले गर्ने कार्यबारे सङ्क्षिप्त जानकारी गराइएको छ। आइतबारदेखि दलले बुझाएको लेखा परीक्षण प्रतिवेदनसहितको अन्य कागजात अध्ययन सुरु गर्ने छन्।”

दलको कागजात अध्ययन र जाँच गर्न आयोगपरिसरमै कर्मचारीका लागि कार्यकक्षको व्यवस्थापन गरिएको छ। उनले अध्ययनका क्रममा दलले बुझाएको कागजात पुष्टि गर्ने कागजको सूची तयार गरिने बताए । टोलीले तयार गरेको सूचीका आधारमा आयोगले सम्बन्धित दलसँग कागजात माग्नेछ।

आयोगमा दलले बुझाएको लेखा प्रतिवेदन र दलको कार्यालयमा रहेको लेखाको स्रेस्तासँग भिडाएर जाँच्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ। आयोगका प्रवक्ता पौडेलले लेखा परीक्षण जाँच गर्न राजनीतिक दलको कार्यालयमै पुग्न सक्ने ऐनले स्पष्ट उल्लेख नगरेको बताए ।
राजनीतिक दललाई आर्थिक रूपमा जवाफदेही बनाउन राजनीतिक दलसम्बन्धी ऐनले दलको कोष, त्यसको सञ्चालन तथा लेखा र लेखा परीक्षण शीर्षकमा गरेको व्यवस्थाभित्र रहेर टोलीले छानबिन गर्ने छ। राजनीतिक दलले गत माघमा आयोगमा बुझाएको आयव्यय विवरणमा ऐनले गरेको व्यवस्थाविपरीतका गतिविधि समेटिएको शङ्कामा छानबिन गर्न लागिएको हो। आयोगमा १६ राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर