पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको ३ महिनाभित्र डिपीआर बनाउने समझदारी

काठमाडौं । नेपालभित्र उत्पादित बिजुली भारतीय बजारमा सहज रूपमा बिक्रीका लागि नयाँ मार्ग प्रशस्त भएको छ । यसअघि अल्पकालीन सम्झौतामार्फत हुँदै आएको बिजुली व्यापार अब भने दीर्घकालीन विद्युत व्यापार सम्झौतामार्फत हुने भएको छ । नेपालबाट भारतले आगामी १० वर्षमा १० हजार मेगावाटबराबरको बिजुली खरिद गर्ने भएको छ । त्यसमा माथिल्लो तामाकोशीलगायतका आयोजनाको बिजुली समेत भारतले खरिद गर्ने भएको छ ।

पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) लाई आगामी तीन महिनाभित्र सहमति जुटाउन सम्बद्ध सरकारी अधिकारीलाई निर्देशन दिएको नयाँदिल्लीमा आयोजित नेपाल–भारत प्रधानमन्त्रीस्तरीय संयुक्त पत्रकार सम्मेलनमा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए । यसबाट लामो समयदेखि अगाडि बढ्न नसकेको पञ्चेश्वर आयोजनाले गति लिने विश्वास गरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदी दुवैले बिजुली व्यापारसम्बन्धी दीर्घकालीन विषयमा सहमति भएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत आयोजना अगाडि बढाउने सहमतिले नेपालको बिजुलीको अन्तर्राष्ट्रिय बजार खोजीका लागि मार्गप्रशस्त भएको छ ।

दीर्घकालीन बिजुली व्यापारसम्बन्धी सहमतिले नेपालको ऊर्जा व्यापारमा भारतीय लगानी विस्तार हुने विश्वास लिइएको छ । केही रणनीतिक महत्त्वका आयोजना अगाडि बढेको खण्डमा व्यापार घाटा कम गर्न, रोजगारीको अभिवृद्धि गर्न तथा विदेशी मुद्रा आर्जनमासमेत सहयोग पुग्ने विश्वास गरिएको छ । यसअघि नेपाल विद्युत प्राधिकरणले वर्षाको समयमा प्रत्येक १५ मिनेटमा प्रतिस्पर्धा गरी खुल्ला बजारमा विद्युत निर्यात गर्दै आएको थियो । त्यसलाई आइएक्स मार्केटका रूपमा लिइन्छ । मध्यकालीन सम्झौताले व्यवसायीलाई ठूलो राहत पुग्नेछ ।

यसअघि गत वर्षामा विद्युत प्राधिकरणले खुला बजारमा चार सय ५२ मेगावाटसम्म विद्युत निर्यात गरेको थियो । त्यसमा प्रत्येक १५ मिनेटमा प्रतिस्पर्धा गरी दर निर्धारण हुने तथा दरमा उतारचढाव हुने भएकोले प्राधिकरणले सस्तोमा बिजुली बेच्नुपर्ने अवस्था आएको थियो । दीर्घकालीन सम्झौताले नेपालको ऊर्जा बजारको खोजी तथा निजी उद्यमी व्यवसायीलाई पनि थप सहज बनाइदिएको छ । भारतीय प्रधानमन्त्री मोदीलेसमेत नेपालको ऊर्जा व्यापारका सन्दर्भमा दुई देशबीच महत्त्वपूर्ण मार्ग प्रशस्त भएको उल्लेख गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर