कोशी प्रदेशको नामकरणमाथि पुनःविचार गर्न कांग्रेसका सभापतिहरूको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका १४ जिल्लाका सभापतिहरुले कोशी प्रदेश नाममा पुनर्विचार गर्न आग्रह गरेका छन्।
कोशी’ नाम खारेजको माग गर्दै प्रदेशमा पहिचानवादीको आन्दोलन तीव्र बन्दै गएपछि कोशी प्रदेशका १४ जिल्लाका सभापतिहरुद्वारा संयुक्त रूपमा बुधबार विज्ञप्ति जारी गर्दै नाममा पुनर्विचार गर्न आग्रह गरेका हुन्।

‘द्वन्द्व पनि मेटिने पहिचान पनि भेटिने नेपाली कांग्रेस लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता, पहिचान र विविधता तथा बहुलताको रक्षक हो, अगुवा हो। नेपाली काँग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात गर्दै गल्ती कमजोरीहरुलाई सच्याउने सहस गर्न सक्छ,’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही तथ्यलाई ध्यानमा राखी हामी कोशी नाम सम्बन्धमा पुनःविचार गर्न पार्टी नेतृत्व तथा प्रदेशसभासँग विशेष आग्रह गर्दछौं। यसैगरी घाइते आन्दोलनकारीहरु तथा सुरक्षाकर्मीहरुको यथोचित उपचारमा ध्यान दिइयोस्। संयमित विरोध र विरोधको सम्मान लोकतन्त्रको महान मन्त्र हो भन्ने पनि सम्बन्धित सबैलाई स्मरण गराउँदछौं।’

वार्ताबाट समस्याको समाधान खोज्न माग गर्दै उनीहरुले पहिचान पक्षधर जनताले आफ्नो माग सुनुवाइका लागि गरिरहेको आन्दोलनमा भएको सरकारी दमनको घोर भत्र्सना पनि गरेका छन्। ‘प्रदेशसभाले कोशी नाम राखेपछि जनताको ठूलो तप्काले अहिले विरोध गरिरहेको छ। यो विरोधकको सुनुवाई नेपाली काँग्रेसको नेतृत्वले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘जननायक विपी कोइरालाले ७ दशक अघि नै समावेशीकरण र पहिचानको पक्षमा नेपाली काँग्रेसलाई दृढताका साथ उभ्याउनु भएको स्मरण गर्दै अहिले प्रदेशमा भइरहेको आन्दोलन र कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवश्यकता हामीले देखेका छौं।’

पहिचान पक्षधरको आन्दोलन तीव्ररुपमा बढेपछि कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले आन्दोलन पक्षलाई यथाशीघ्र वार्तामा बोलाउन सरकारसमक्ष मागसमेत गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर