अदालती प्रक्रियाका कारण सन्दीप दक्षिण अफ्रिका जान पाएनन्

काठमाडौं । बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीम लामिछाने जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि दक्षिण अफ्रिकातर्फ जान नपाउने भएका छन् ।

विश्वकप छनोट अघि अन्तिम तयारी गर्न नेपाली टोली मङ्गलबार (आज) राति दक्षिण अफ्रिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । सन्दीपलाई अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका भ्रमणमा समावेश गर्न नसकिएको क्यानले जनाएको छ ।

तर क्यानले जेठ १५ गते घोषणा गरको विश्वकप छनोटको १६ सदस्यीय टोलीमा सन्दीपको नाम भने हटाएको छैन । विश्वकप छनोट खेल आगामी असार ३ गतेदेखि सुरु हुनेछ ।

सन्दीपविरुद्धको बलात्कार मुद्दामा मङ्गलबार अन्तिम टुङ्गो लाग्न नसकेको काठमाडौं जिल्ला अदालतले जनाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासमा भएको सुनुवाइमा अन्तिम टुङ्गो लाग्न नसकेको अदालतका वैतनिक वकिल शङ्कर पौडेलले जानकारी दिए ।

न्यायाधीश राईको इजलासले पूर्व आदेशअनुसारको कार्य सम्पन्न गर्ने आदेश गरेको छ । वकिल पौडेलले भने, यो, ‘‘पूर्व आदेशअनुसार नै गर्नुभनेको थप प्रमाणको प्रक्रिया पूरा भइनसकेको र प्रमाण बुझ्ने काम बाँकी भएकाले सो आदेश दिइएको हो । मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ ।’’

२०७९ पुस २८ गते लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो । क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर