सुरक्षाकर्मीमाथि बन्दुकधारीको समूहले आक्रमण गर्दा १० जनाको मृत्यु
काठमाडौं । उत्तरी मेक्सिकोस्थित राजमार्गमा सुरक्षाकर्मीमाथि बन्दुकधारीको समूहले आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ ।
“सिभिल फोर्सका कर्मचारीलाई तीन वटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका मानिसले गोली प्रहार गरेका थिए,” नुएभो लियोनका सार्वजनिक सुरक्षा सचिव गेरार्डो पालासियोसले फेसबुकमा लेखेका छन् ।
दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिएका तथा सिभिल फोर्सका चार जना अधिकारीहरू घाइते भएका उनले जनाएका छन् । राजमार्गमा भएको उक्त आक्रमणमा लागूऔषध तस्करी गर्ने सङ्गठित अपराधमा संलग्न ग्याङको हात रहेको बताइएको छ ।
नुएभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा नियमितजसो हिंसात्मक घटना हुँदै आएका छन् । सन् २००६ मा मेक्सिको सरकारले लागूऔषध विरोधी अभियान सुरु गरेयता तीन लाख ४० हजारभन्दा बढी हत्या, करिब एक लाख जबरजस्ती बेपत्ता पारिका घटना भएका छन् ।
सरकारले यस्ता घटनामा सङ्गठित अपराधमा संलग्न ग्याङको हात रहेको बताउने गरेको छ । एजेन्सी