११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व सङ्कलन हुने अनुमान
काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व सङ्कलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो ।
राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम सङ्कलन हुने अनुमान गरिएको हो । सरकारले आगामी आवका लागि वैदेशिक सहायतातर्फ ३८ अर्ब ४६ करोड रुपियाँ अनुदान र ऋण १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संशोधित अनुमान सार्वजनिक गरेको छ ।
आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वेदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताउनुभयो । चालु आवमा वैदेशिक सहायतातर्फ २४ अर्ब ८१ करोड रुपियाँ अनुदान र १ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ ऋण आउने अनुमान गरिएको थियो ।
दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत सुधारको नारासहित ल्याइएको बजेटमा वैदेशिक अनुदानको ठूलो महत्व रहने छ । तर सरकारले चालु आवमा अनुमान गरिएको भन्दा निकै कम मात्र वैदेशिक सहायता पाएको छ ।