प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।

भारत भ्रमणको तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्ने र भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्ने तय भएको छ ।

वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम पनि तय भएको छ । त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्नेछन् ।

परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्नेछन् ।

यसैगरी, प्रधानमन्त्रीले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड जेठ २० मा काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दौरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर