नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारको आग्रह

काठमाडौ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नागरिकता विधेयकलाई प्रमाणीकरण गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी त्यसै छाडेको विधेयकलाई कानुनबमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्न आग्रह गर्ने निधोमा सरकार पुगेको छ ।
पहिलो पटक विधेयक पठाउँदा तत्कालीन राष्ट्रपति भण्डारीले विभिन्न बुँदाहरूमा पुनर्विचार गर्न संसदमा विधेयक फिर्ता गरेकी थिइन्। एक पटकका लागि विधेयक राष्ट्रपतिले संसदमा फिर्ता गर्न सक्ने संवैधानिक व्यवस्था छ।
संसदले दोस्रो पटक पनि उक्त विधेयक जस्ताको त्यस्तै पारित गरेर राष्ट्रपति कार्यालय पठाएपछि संविधानअनुसार १५ दिन प्रमाणीकरण गर्नुपर्ने दायित्व पूरा नगरी भण्डारीले विधेयक त्यत्तिकै राखेकी थिइन्। नयाँ संसद बनेर रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सरकारले पहिलाकै विधेयकलाई प्रमाणीकरणका लागि फेरि पठाउनेबारे छलफल थालेको थियो।