माओवादी सांसद दाहाल आफ्नो भनाइमा अडिग, ओलीले नै स्पष्ट पार्नुपर्ने माग

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठक निर्धारित कार्यक्रमभन्दा अन्यत्र नै मोडियो । बैठकको प्रारम्भमा नै प्रमुख प्रतिपक्ष एमालेका सांसदहरूले सत्तारुढ दल नेकपा माओवादीका सांसद लेखनाथ दाहालले सरकारको नीति तथा कार्यक्रममाथि बुधबार भएको छलफलमा भाग लिँदै केपी ओलीको पालेमा पशुपतिनाथमा सुनको जलहरि राख्ने क्रममा भएको भ्रष्टाचारको कुरा उठाइएको विषयलाई लिएर आपत्ति मात्र जनाएनन् उक्त विषय उठाउने सांसदले माफी माग्नुपर्ने र माफी नमागेसम्म सदन चल्न नदिने अडान राखे । त्यो पनि स्वयं केपी ओलीको भौतिक उपस्थितिमा । एमाले सांसदहरूले सांसद दाहालले बोलेका कुरा संसदीय रेकर्डबाट हटाउनसमेत माग गरे । घटनाक्रम यत्तिसम्म विकसित भयो कि सभामुख देवराज घिमिरिेले सदनको कारवाही २० मिनेसममका लागि स्थगित गर्नु परेको थियो ।

आखिरमा के बोलेका थिए त सांसद दाहालले हेरौं :  ‘गएको तीन वर्ष सरकारमा जाँदा ७ खर्ब ऋण थियो, १७ खर्ब कसरी पुग्योरु सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्नुभयो, तर उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारको काण्ड भएरु यति ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्री खरिदमा भएको २ अर्बको भ्रष्टाचार, त्यतिमात्र होइन, पशुपतिनाथमा सुनको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका भ्रष्टाचारहरूका सयौँ यस्ता काण्ड छन् ।’

प्रतिनिधिसभामा एमाले सांसदहरूको अवरोधपछि पनि दाहाल आफ्नो भनाइमा अडिग छन् । उनले सञ्चारकर्मीहरूसँग भने, ‘१० किलो सुन घटी भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ, त्यसबेला के भएको हो भनेर केपी ओलीले जवाफ दिनुपर्छ, ‘मैले त्यतिबेला आएका विषय नै उठाएको हुँ ।’ उनले यस विषयलाई संसदीय छानविन समिति बनाएर निरूपण गरिनुपर्ने बताए।

‘केपी ओलीले मौजुदा सरकारलाई जसरी लाञ्छित गर्ने कोसिस गरिरहनु भएको छ। भ्रष्टाचार आफ्नो पालामा हुने, सबैले देखेका छन् नि, यति, ओम्नी काण्ड, स्वास्थ्य सामग्री खरिदमा भएको घोटाला, गोकर्ण रिसोर्ट कसको पालामा दिइयो? यो तथ्य ओझेलमा पार्न उहाँहरू अनेक हर्कत गर्दै हुनुहुन्छ,’ उनले भने। उनले नीति कार्यक्रममाथिको छलफललाई अन्यत्र मोड्न असंसदीय गतिविधि गरेको दावीसमेत गरे।

‘मैले यसअघि आइसकेकै विषय भनेको हुँ। मैले संसदीय मर्यादाभित्रै रहेर आफ्नो कुरा राखेको हुँ,’ उनले भने, ‘तर, एमालेले आज जसरी उत्तेजित भएर संसदीय मूल्य/मर्यादा नाघिरहेको छ, यसले घाटा उनीहरूलाई नै हुने हो।’ स्थगित भएको प्रतिनिधिसभाको बैठक चल्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर