सार्वजनिक स्थलमा धूमपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न निर्देशन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा धूमपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा धूमपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न, नगराउन निर्देशन दिएको हो ।
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन,२०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूमपान तथा सूर्तिजनय पदार्थ सेवन गर्न नहुने व्यवस्थाअनुरूप जिल्ला प्रशासन कार्यालयले यस्तो आग्रह गरेको हो ।
जिप्रकाले पार्क, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधान, विमानीथल, सार्वजनिक शौचालय, चलचित्र घर, रङ्गशाला, धार्मिकस्थल र प्रतिक्षालय लगायतका सार्वजनिक स्थानमा धूमपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्ने, नगराउन निर्देशन दिएको छ ।
त्यस्तै, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण नगर्न सूचनामा उल्लख गरिएको छ । १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूतिजन्य पदार्थ वितरण नगर्ने जिल्ला प्रशासन कार्यालयको निर्देशन छ ।
सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ सेवन गरी, गराई सूचनाको पालना नगरेमा उक्त ऐनको दफा १७ बमोजिम कडा कारबाही गर्ने जिप्रकाले चेतावनी दिएको छ । सार्वजनिक स्थलमा धूमपान तथा सूर्तिजन्य पदार्थको सेवन नगर्ने, नगराउने कार्यमा सुरक्षाकर्मी सामुदायिक संस्था तथा आमनागरिकबाट आवश्यक जागरुकता, सचेतना र सहकार्य गर्न जिप्रकाले अनुरोध गरेको छ ।