बागमती प्रदेशमा आजदेखि गाडी भाडा घट्ने

काठमाडौं । बागमती प्रदेश सरकारले गाडी भाडा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएको थियो ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो ।
मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बुधवार बसेको भाडा निर्धारण÷समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको बताए । राजपत्रमा बिहीबार सूचना प्रकाशित भएपछि नयाँ सवारीसाधनको भाडा दर लागू हुनेछ ।
उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा बिहीबारबाट लागू हुने गरी ५.९० प्रतिशतले घट्ने छ । यस्तै बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाउने निर्णय मन्त्रालयले गरेको छ । यसअघि बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयअनुसार गत वर्षको साउन ५ गते नयाँ भाडा दर कायम गरेको थियो ।