दोस्रो चरणको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन, डा. आरजु देउवा, मञ्जुखाँण र नैनकला थापा तानिने प्रवल सम्भावना

काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूले दिएको बयानको आधारमा उल्लेखित व्यक्तिहरूविरुद्ध पनि थप अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले कतिपय अवस्थामा थप अनुसन्धान अनिवार्य देखिएकाले प्रक्रिया अघि बढाउनु भनी निर्देशन भएको बताए ।

सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको निर्णयमा भनिएको छ, ‘प्रतिवादीहरुको बयान पोलमा परी खुलाइ दिएका व्यक्तिहरुको हकमा अनुसन्धान कार्य जारी रहेको हुँदा स्वतन्त्र प्रमाणबाट कसूर गरेको खुल्न आएका बखत वा पक्राउ परी आएका बखत थप दावी लिई अभियोग–पत्र पेश गरिने ब्यहोरा सादर अनुरोध छ ।’
हालसम्म पक्राउ परेका १६ जनामध्ये कतिपयले बयानका क्रममा नाम लिएका र अन्य प्रमाणका आधारमा समेत जोडिएका व्यक्तिहरूलाई पक्राउ नगरी सरकारले उक्त प्रकरण फासफुस गर्न लागेको भनी सदनदेखि सडकसम्म चर्को आलोचना भइरहेको छ ।

जाहेरीका साथ पेश भएको अडियो फाइलमा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती एवं सांसद आरजु देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती एवं सांसद मञ्जु खाणको नाम छ । तर प्रहरीले उनीहरुको बयान नगराई सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको थियो ।

यो प्रकरणमा मुछिएकाहरुले बयानमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा, छोरा प्रतीक थापाको नाम लिएका छन् । बादल र उनकी पत्नीमाथि अनुसन्धान भएको छैन । प्रतीकविरुद्ध मुद्दा नै दायर गरिसकेको छ ।

प्रहरी प्रतिवेदनमा उल्लेख भएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीयसचिव राजेश बज्राचार्य, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यका सचिव राजेश्वर स्थापित, पूर्वप्रधानमन्त्री ओलीका सल्लाहकार डा. अजयक्रान्ति शाक्यमाथि समेत प्रहरीले मौकाको कागज गराउनेदेखि अरु प्रमाण संकलन गर्ने काम गरेको छैन । सहन्यायाधिवक्ता न्यौपानेले भने, ‘जे जति काम बाँकी छ, सबैको हकमा अनुसन्धान सकेर प्रतिवेदन पेश गर्न निर्देशन भएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर