शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नयाँ प्रजातिको चरा

काठमाडौं । सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नयाँ प्रजातिको चरा थपिएको छ । लानिडी पंछी परिवारअन्तर्गतको नयाँ प्रजातिको भद्राई चरा थपिएको हो ।
यो चराको अङ्ग्रेजी नाम ‘लेसर ग्रे स्राइक’ रहेको छ । निकुञ्ज कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमले सञ्चालन गरेको नियमित वन्यजन्तु अनुसन्धानको क्रममा यही वैशाख ३० गते (मे १३, २०२३ मा) लेसर ग्रे स्राइक चरा फेला परेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले जानकारी दिए ।
“नयाँ प्रजातिको चरा देखिएपछि त्यो नयाँ प्रजाति हो वा होइन भनेर पुष्टि गर्नका लागि हामीले फिल्डमा खिचेको फोटोसहितको विवरण नेपालका पंक्षी विज्ञविद्हरुको कमिटीलाई पठाएका थियौं”, उनले “त्यो नयाँ प्रजाति रहेको पुष्टि भएको छ ।”
शुक्लाफाँटा संरक्षण कार्यक्रमका वन्यजन्तु प्राविधिक देवराज जोशीले उक्त चरालाई अभिलेख गरेको प्रेसविज्ञप्ति जारी गरेर जानकारी दिएको छ । सो संस्थाका अनुसार निकुञ्जको उत्तरी भागमा रहेको कालापानी क्षेत्रको नदीतटमा नयाँ प्रजातिको भद्राई चरा पहिलो पटक देखिएको थियो । चरा अभिलेख गरिएको क्षेत्र समुन्द्र सतहबाट २१८ मिटरको उचाइमा रहेको छ ।
नेपालमा यसअघि ६ प्रजातिका भद्राई चरा अभिलेख गरिएको थियो । नयाँ प्रजातिको भद्राई चरा फेला परेपछि थप पहिचानका लागि विवरणसहित नेपाल पंक्षीविद् संघअन्तर्गतको ‘रिअर बर्ड रेकर्ड कमिटी’ मा पठाइएको थियो । शरीरको आकारमा रहेको भिन्नता, निधार, र तालुमा विशेष कालो चिह्नहरु, कालो पखेटामा रहेको एकमात्र सेतो चिह्न आदिका आधारमा अरु भद्राईभन्दा यो फरक रहेको निक्र्योल निकालिएको थियो ।
लेसर ग्रे स्राइक लामो दूरीसम्म विचरण गर्ने फिरन्ते चरा रहेको र यो चरा साइबेरियादेखि मध्य एशियाहुँदै अफ्रिका महादेशसम्म विचरण गर्ने गरेको जनाइएको छ । यसअघि, सन २०२० मा भारतको पञ्जाब प्रान्तको लुधियाना क्षेत्रमा यो प्रजाति अभिलेख गरिएको थियो । नयाँ प्रजातिको चरा अभिलेख भएसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चरा प्रजातिको सङ्ख्या ४६० पुगेको छ । (तस्बिर : सौजन्यः देवराज जोशी)